शब्दको अर्थहरूले
परिभाषा बोकेर हिँडेपछि
शब्दहरूलाई आफैँले बुझ्दा
के हुन्छ र !
पीड़ा छ र दुख्छ
दुख्नु मनमनै रमाउनु
आफैँ मुस्कुराउनु आफैँसँग
पीडाको गहिराई
शान्त तलाउ बोधताको ।

दुःखकै चेतले जीवनको संघारमा
जीवनलाई बुझाइरहेको हुन्छ
केही आशा
केही भरोसा
केही विश्वास आफैँसँग
लड्दै उठ्दै हिँड्न सिकाउँछ
चोट- खुशी हुने उपाय
आफ्नै अनुहारभरि इन्द्रेणी पोत्ने
दिलको घाउलाई आफैँ मलम लगाउने
घाम जून टिपेर आफैँलाई सिउरने
आफ्नै दृढता अटल रहने

सबलाई जानु छ
त्यो क्षितिजपारि
तिमीलाई बाटो काटेर जानुमा हतार छ
आँखाबाट ओझल हुँदै
मनबाट भागेर जानु हतार छ
बिर्सनु- सम्झनु रहेछ पलपल मेरो लागि
बिर्सनु- बिर्सनै होला तिम्रो लागि
शब्दको खेल न हो
परिभाषाहरूले त्यो क्षण मलाई
तिमीले प्रेम गर्छु नभनिदिएको भए
म आज मलाई प्रेम गर्न जान्दिनथें
प्रेम – घृणा बनिएर एकदिन
तिमीले नै मलाई
वर्तमान दयामाया प्रेम केही छैन भनिरहँदा
म उस्तै शान्त र स्निग्ध नै थिएँ

मेरो लागि शब्द
निश्चित समयका व्यञ्जक हुन्
अर्थहरूबिना दोषको हुनपर्छ
हरेक दिन एउटा उत्सव जीवनको
आफैँलाई जितिरहने मनोहर हुनुपर्छ
फूल भन्दै बर्षाएर असिना चुटनेहरूलाई
फूलकै प्रेमिल गुच्छाले दुख्नुपर्छ।