गरिबको दुःखको पिरामिड टेक्दै
ख्वामितको धुरीमा झण्डा फहराउँदै
बौद्धिक हुलहरू बोकेर
हिटलरी फोबिया फत्ते गर्न
आइरहेछ समाजवाद

फिरिङ्गीको विचारसँगै
सिद्धान्तसँगै
डलरसँगै
पादरीसँगै
गरिवी, महँगी र बेरोजगारीको कन्टेनर बोकेर
गुप्त मिशन पुरा गर्न
आइरहेछ समाजवाद

सलामी र गुलामीको शान शौकत साथ
भाट र भिउँट
ताबेदार र चोपदार
मौकावादी र दलाल
पश्चगामी र द्रव्यपूजकहरूको लावालस्कर साथ
ढोके, चम्चे र हुक्केहरूको सल्लाहमा
भ्रमको लिङ्गे पिङ हल्लाउँदै
सिंहासनको फर्मान पुरा गर्न
आइरहेछ समाजवाद

जुन दिन
मातृभूमिंलाई शिर भेटी चढाउँदै
हुरुरु बलेको आगो निलेर
योद्धाहरू शहीद भए
त्यै दिनबाट
निरन्तर निरन्तर
आइरहेछ समाजवाद

यो गणराज्यमा
निरन्तर
आइरहेको समाजवादलाई
इतिहासको कठघरामा उभिएर
मेरो एउटा प्रश्न छ

अन्याय र अत्याचारको अन्त्य गर्न नसक्ने
विभेद र शोषणको अन्त्य नगर्ने
न्याय, शान्ति र समृद्धि नबोक्ने
नदी किनारमा गिट्टी कुट्ने मजदुर
साहुको खेत-खलियानमा बलबैंस गुजार्ने किसान
भोकले पेटको आगो निभाउने उत्पीडित
सबैलाई उपहास र व्यङ्ग्य गर्दै
समाजका आदर्श र मार्गदर्शन भत्काउँदै
समाजवादकै सौन्दर्य ध्वस्त पार्दै
स्वयंको हुर्मत काढेर
वर्चश्वशाली ब्राण्ड बनेर
कृपा, आशीर्वाद
र अनुदानमा
वर्षौंदेखि
किन आइरहेछ
बहुरुपी तमासाको समाजवाद ?