१. मौलिकता जोगाऔँ

रञ्जुश्री पराजुली

ढिकरीमा चामल कुटी सेल पाक्थ्यो तिहारमा
शुद्ध घिउको बासना उड्थ्यो हरर

जाडो याम घाममा बसी मिलिजुली घुम बुन्थे
बर्खा याम पानी छेक्न बोकी हिँड्दथे

मकै भुट्ने हाँडी के हो के थाहा र सानालाई
कुकरमा मकै भुट्छन् ग्याँस सल्काई

नौनी बन्छ कसरी छैन थाहा तिनलाई
बटरको प्याक खोली चाट्छन् रमाई

राख्नु पर्छ जतनसँग पुराना ती सम्झना
सँगालेका पुर्खाले राम्रा रचना

पुरानालाई हेप्न हुन्न नराम्रो छ भनेर
मौलिकता जोगाऔँ ज्ञानी बनेर ।
——————————-
[कवयित्री रञ्जुश्री पराजुलीको जन्म वि.सं. २००५ मा काल्धारा काठमाडौँमा भएको हो । सुनकोसी साहित्य प्रतिष्ठान, नारी साहित्य केन्द्र, नियात्रा समाज लगायतका संस्थामा आजीवन सदस्य रहेकी पराजुलीको बालसाहित्यसँग सम्बन्धी संस्थामा पनि सम्बद्धता रहिआएको छ । उनी नेपाल बालसाहित्य समाज तथा केटाकेटी प्रतिष्ठानमा समेत आजीवन सदस्य छन् । नेपाली समालोचना र सिर्जनाका क्षेत्रमा निरन्तर कलम चलाउँदै आएकी कवयित्री रञ्जुश्री पराजुलीले प्रौढ तथा बालसाहित्यका क्षेत्रमा आफ्नो सक्रियता देखाउँदै आएकी छन् । बालसाहित्यका क्षेत्रमा उनले कथा र चित्रकथा विधामा थुप्रै सङ्ग्रह प्रकाशित गरेकी छन् । उनका अनूदित बालसाहित्यिक कृतिहरू पनि प्रकाशित भएका देखिन्छन् । उनको प्रस्तुत बालकविता ‘मौलिकता जोगाऔँ’ मा कवयित्रीले हाम्रा मौलिक सभ्यता र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएकी छन् । कवितामा गाउँघरमा हुने ढिकी, तिहारका बेलामा पकाइने सेलरोटी, बाँसका चोयाबाट बनाइने स्याखु (घुम), मकै भुट्ने हाँडी आदि सांस्कृतिक पहिचान झल्कने विषयको बालसुलभ भाषामा परिचय दिइएको छ । बालबालिकाका लागि सन्देशमूलक यो बालकविता विजोर हरफमा १५ र जोर हरफमा १३ अक्षर हुने तिजे गीतको भाकामा रचिएको छ ।]
———————————————————————————–

२. फूल

राधा आचार्य

 

फुलेको फूल डालीमा
हेर्दछु बसी आलीमा
देखायो फूलले आफ्नो तन
पिरती गाँस्न भयो मन

नजिकै गई भनूँ कि!
दिन हेराई औँला गनूँ कि !
भन न भन साथीभाइ
कसरी खटूँ आजलाई ?

चुँडेर लिन छैन मन
दुख्ला कि भनी उसको तन
देख्दैछु कोमल दललाई
मुस्कायो यौवन भरलाई

हेरेर दङ्ग बोटलाई
चुम्न छ मन ओठलाई
चुम्बकै बनेर तान्यौ नि
काँडालाई पर फाल्यौ नि

बाँधियो डोरी मायाको
खाँचो छ तिम्रो छायाँको
फूलरानी तिमी गुलाफ
संसार धाउने सुवास ।
********************************************
[अन्नपूर्ण मा.वि. बुटवल, रुपन्देहीकी शिक्षिका राधा आचार्य (२०३३) सुमधुर स्वरमा कविता वाचन गर्न सक्ने कला भएकी प्रतिभा हुन् । उनले अग्रज र समकालीन सर्जकका शास्त्रीय तथा लोकछन्दका कविता एवम् बालकविताहरूमा मिठो स्वर दिएकी छन् । उनका फुटकर बालकविताहरू विभिन्न साहित्यपोस्ट लगायतका अनलाइन मिडियाहरूमा प्रकाशन पनि हुँदै आएका छन् । उनको प्रस्तुत ‘फूल’ बालकवितामा कवयित्रीले फूलको माध्यमबाट प्राकृतिक सौन्दर्यको जीवन्त चित्रण गरेकी छन् । फूलको सौन्दर्य हेर्नलाई मात्र हो छुन, चलाउन, टिप्न र चुँड्नलाई होइन भन्ने भित्री आशय कवितामा झल्कन्छ । बालपात्र बनेकी कवयित्रीमा फूलसँग पिरती गाँस्ने रहर पलाएको छ । कवितामा फूलको मानवीकरण गर्दै फूललाई फूलरानीको संज्ञा दिइएको छ र सोही फूलले आफूलाई आकर्षित गरेको अभिव्यक्ति बालपात्र बनेकी लेखिकाका माध्यमबाट आएको छ ।कविता ३+२+३, ३+२+३ को संरचनामा आधारित १६ अक्षरे सेलो लोकलयमा रचिएको छ ।
—————————————————————————–

३. शिक्षक-मलाई सिकाउनुहोस्…

मनिराम मञ्जिल

आजका साना कोपिला, भोलि फूल हुनेछौँ
बाली ज्ञानको दियालो, चन्द्रज्योति छुनेछौँ

देखाउनुस् असल मार्ग, सिकाउनुस् जीवन
चिनाउनुस् मातृभूमि, प्रेमको यो बन्धन

भविष्यमा देशमै उद्यम, गर्न सक्ने बनाउनुस्
अक्षर जस्तै मान्छे पनि, चिन्न सक्ने बनाउनुस्

गणितका सूत्र जस्तै, बुझाइदिनुस् जीवन
त्यसरी नै चिन्न सकौँ, दुष्ट अनि सज्जन

सुनाउनुस् सफलता, सङ्घर्षका कहानी
दिन सकौँ समाजलाई, सभ्य स्वर्णिम बिहानी

दिनुस् असल संस्कार, सम्झी भावी कर्णधार
दिन्छौँ हामी विश्वलाई , सभ्य समाज उपहार ।
******************************************
[२०६० सालमा बाग्लुङको साविकको ताराखोला गाविसमा मनिराम मञ्जिलको जन्म भएको हो । नवलपरासीमा रहेको पशुपति साङ्गवेद आवासीय संस्कृत गुरुकुलमा पढ्दै गर्दा कविता प्रतियोगितामा भाग लिने तथा गुरुहरूको सान्निध्यतामा कविता लेख्ने गरेका उनले अहिले पनि निरन्तर कलम चलाइरहेका छन् । हाल उनी काठमाडौं प्रदर्शनी मार्गमा रहेको वाल्मिकि विद्यापीठमा शास्त्री द्वितीय वर्षमा नेपाली साहित्य तथा शुक्लयजुर्वेदको औपचारिक अध्ययन गर्दैछन् । गजल, कविता, मुक्तक तथा बालकविता विधामा कलम चलाउँदै आएका उनका विभिन्न पत्रपत्रिकाहरूमा लेख रचनाहरू प्रकाशित छन् । उनको प्रस्तुत ‘शिक्षक-मलाई सिकाउनुहोस्…’ बालकवितामा एउटा बालक विद्यार्थी बनेर शिक्षकलाई सम्बोधन गर्दै आफूलाई ज्ञानी, गुनी, नैतिकवान् र असल बन्नका लागि बालकका भाषामा आग्रह गरिएको छ । बालोपयोगी भाषाशैलीको प्रयोगका कारण कविता बालपाठकका लागि पठनीय बन्न पुगको छ ।]
——————————————————
{ यस स्तम्भमा सहभागी हुन चाहनुहुने स्रष्टाहरूले आफ्ना बालकविता, फोटो र बायोडाटा nepalibalkabita@gmail.com ठेगानामा पठाउन सक्नुहुनेछ ।}