आमा तिमीले लिपेर टलक्क टल्काएका
आँगनीमा जूनको लहरहरू देखा पर्दा पो
आउँथ्यो हाम्रो दशैं
तिमीले माटोले पोतेका कण कणमा
तिम्रो ममताको झल्को हुँदा पो
आउँथ्यो हाम्रो दशैं
झिस्मिसेमा अर्धनिद्राबाट नै तिम्रो
चुराको आवाजबाट निस्किएको ध्वनि
तिमीले पूजा गर्दा आएको घण्टीको ध्वनि
अँगेनोमा, चुलोमा बिहानैदेखि तिमीले बालेका
स्वर्णिम अग्निज्वाला, अनि
तिम्रो हातबाट बनेका खानामा लुकेको
अदृश्य अलौकिक मायाको स्वाद थियो र पो
आउँथ्यो हाम्रो दशैं
पिङ खेलेर थाकेका मेरो शरीर अनि
घर भरिको कामबाट थाकेका तिम्रा हात पाउहरूबीच पनि
कति पनि विचलित र निराश नभई
हामीलाई सधैं सानोदेखि
ममतारुपि हृदयबाट सबै दु:खका आँसु लुकाई
पुनः हाँसेर बनाएका
परिकारसहितको प्रतीक्षामा पिँढी र आँगनैको डिलबाट हेर्थेऊ र पो
आउँथ्यो हाम्रो दशैं
बारीको पाटामा, पधेंरीमा
चुलो चौको अँगेनी अनि मझेरीमा
घर वरिपरि, ओल्लो वारि पल्लो बारी
आँगनी अनि भरयाङ् बुइँगल सबैमा
तिम्रो ममताको सुगन्धले भरिएको हुन्थ्यो र पो
आउँथ्यो हाम्रो दशैं
कमेरो र माटोको मिश्रणबाट टल्किएको
त्यो सेतो र रातो भित्ता
सयपत्री फूलको सुगन्ध
त्यो सुगन्ध भन्दा मिठो तिमी कहीँकतैबाट आउँदाको सुगन्धित पल
जुन तिम्रो परिश्रमी देहबाट
दुर्गा माताको पूजा पहिले तिम्रो आँखा
वरिपरि कुदिरहेका हुन्थ्यौ र पो
आउँथ्यो हाम्रो दशैं
उसै त प्यारो स्वर्गीय नगरी
बिहानीको सुनौला गौरीशंकर हिमालका श्वेत लहरी
सँगै झुल्किएका घामका न्यानो लहरलाई पनि
परास्त गर्ने तिम्रो स्वच्छ मुस्कान अनि निःस्वार्थ प्रेमका बर्सातमा रुझ्न पाउँथ्यौ र पो
आउँथ्यो हाम्रो दशैं
र आज तिमी र हामी यही पृथ्वीमा रहेर पनि
हामी तिम्रो काखबाट बाहिरिएपश्चात्
यो घाम किन घामजस्तो लाग्दैन
जून, त्यो शितल जूनजस्तो लाग्दैन
दशैं, त्यो उमंग भरिएको चाड नै लाग्दैन
हिमालको आकृतिमा तिम्रो चेहरा देखिन्न
पानीमा तिमीले दिएको जस्तो प्यास मेटिन्न
र यो सबै बाबजुद पनि हाँसेको नाटक गर्दै
यो जीवनचक्र पार गर्ने प्रतीक्षामा छौँ
पक्कै पनि कति फरक छ है आमा
तिमी बिनाको
पराइ भएका र परदेश गएका सन्तानको
“यो दशैं र त्यो दशैंमा ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।