
फेरी तेलको मूल्य बढ्यो
यसपाली स्वचालित हो रे
सुनसान रातमा बढ्छ क्या मजा !
दरबारमा पनि स्वचालित पड्केको थियो नि
बेलाबखतमा स्वचालित कारोबार हुन्छ
स्वचालित बढ्छ घट्छ बेहिसाबले
मानौं बेबस्था स्वचालित हो झैँ
पीडाउने सताउने गरी औँला भाँचेर
बढाएको होइन रे प्यार प्यार किन गर्नु
भित्तासम्म पुर्याउने आयलले
जनताजनार्दन घायल कायल बनाएको छ
झस्किन्छन चसकिन्छन उछिट्टिन्छन्
यता तेल बढ्छ उता यातायात भाडा बढ्छ
ढुवानी बढ्छ खुवानी बढ्छ आकासिन्छ
उड्दा बढ्छ गुड्दा बढ्छ
जे पनि जेमा पनि बढ्छ
खाद्य र अखाद्य सबथोक बढ्छ
विरोधीको भाका बढ्छ उकालो चढ्छ
अचाक्ली बढ्छ हाउभाउ ह्याउ बढ्छ
बढ्नुको स्वाद चाख्नेले पाउछ
बढ्नु मै मजा छ क्यार !
नेताको संख्या अनि पद बढ्छ
मान सम्मान कमान सलाम बढ्छ
बढ्दा बढ्दा संघ प्रदेश पालिका बढ्छ
र, पो सरकारको अनुभुति दैलोमा हुन्छ
सरकार दृढ छ
अस्ति र हिजोकाले पनि बढाएकै हुन्
नजिरमा नजर तन्काएर बसेको छ
सुनदेखि नुनसम्म सियोदेखि धागोसम्म
दियोदेखि फियो हियोसम्म बढ्छ बढ्छ
सदियौंदेखि बढ्दै आएको छ
उहिले पैशामा आउने नुन अहिले रुप्याँमा छ
रुप्याँमा पाउने सुन लाखौमा बिक्छ
बढ्दा विकास हुन्छ निकास हुन्छ
महङ्गाई सदा सर्वदा बढ्छ बढ्दै रहोस्
उकालो चढ्दै जाओस्
मुठीभर निर्धन, सर्वहारा अनि मजदूरलाई
समाजवाद उन्मुख संविधान जिन्दावाद छ
मेनतकश हो ऊ मेहनत गरोस
सर्वहाराले सबथोक हार्न सिकुन्
मङ्गाई वरदान मानुन
बिचरा ! कर्मचारी र नेतालाई
कम्तिको सास्ती छ र
नखाइ नहुने गुजारा नचल्ने
खायो कि अख्तियारको फन्दामा
मन्त्री पद घुषघाँसमै डुब्छ
कर्मचारी दैलो चहार्दै हराउछ
साहित्यकार पुरस्कारमा रम्छ
बेपारी खनखनी मालामाल ढुक्छ
राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्म
भत्ता अनि लत्तामा बेरिन्छन्
जाबो जनता त न खा छदै छ
किसान आयोग उपभोक्ता आयोग
बिचौलिया आयोग दलाल आयोग
अनुगमन हल्लाखोर छदै छ
लुट्नेलाई पाउनेलाई मजै मजा
दूधदेखि बिजुलीसम्म
औषधीदेखि भान्सासम्म कमिसनले चल्छ
के को गन गन मनुवा चुप्पी साध्नु नि
नजाने गाउँको बाटो किन सोध्नु
महङ्गाई महासङ्ग्राम किन बनाउनु
नेतावाद महङ्गाई जिन्दावाद !
महालक्ष्मी-०१, ललितपुर



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

