खिइँदैछन् घर, गोठ, बारी, हलो र जुवाहरू
रूँदैछन् पाखा पखेरा अनि, आमा र बुबाहरू
एक्लै छ चौतारी वरको, घुम्दैनन् चर्खे पिङ
फर्की आऊ सम्हाल देशको बागडोर युवाजन !

रित्तिदैछन् गाम बेसी यहाँ, दुई छाकका रापले
छानो मानो अर्थ अनि, सुखका ती सन्तापले
झुल्काई सुदूरमा किरण ती, आशाका बिज छर्न
फर्की आऊ सम्हाल देशको, बागडोर युवाजन !

छन् रोगी अनि अशक्तहरू यहाँ, देशै चलाउनेहरू
खै कहाँ छौ ? श्रम अनि सीपले, ढुङ्गा गलाउनेहरू
देखी यस्तो अवस्था देशको सम्झिँदा रुन्छ मन
फर्की आऊ सम्हाल देशको, बागडोर युवाजन !

होला कहाँ गति विकासले, समृद्धि कहाँ छाउला ?
तिमी बिना शुभ समयको गीत यहाँ को गाउला ?
राखी तिम्रै भरोसा देशको, चल्दैछ हेर धड्कन
फर्की आऊ सम्हाल देशको बागडोर युवाजन !

 

तिलोत्तमा, रुपन्देही