
अझै पनि ब्यूँझिएको रहेन छु
नांगो आकाशमुनि
खुल्ला धर्तिलाई मुलायम बिस्तारा सम्झेर
टुटेको-फुटेको सपनाहरूसँग
जिस्किदै, मस्किदै
आँखा नचिम्लेर सुतिरहेछु
म देखेर मेरो लाज लजाएर
साँझपखको संन्यासी घामसँगै
पश्चिमी पहाडको कोखमा विलिन हुन्छ
दुई खुट्टा टेकेर
म चेतनशील मान्छे हुँ भन्ने हुँक्कार बोकेर
बेकारमा हावाको लागि सास फेर्दै
वन-पाखा, पोथ्रो र डालीमा
घुमिफिरी बाँचिरहेछु
खोलाको लागि बेग बनेर बग्दै
झर्ना बन्न पहाडको टुप्पोबाट झर्दै
कुना-कन्दरा र कुइनेटोमा ठक्कर खाँदै बग्दै
अहंकारको नर्सरीमा लोभ र पापको बेर्ना उमार्दै
स्वाभाविक स्वाभिमानी भन्दा
अपत्यारिलो अभिमानी बन्न हौसिन्छ
म मान्छे रे
त्यसैले मभित्र जन्मेको मपाईँ
गर्न तम्सिन्छ कथित खोक्रो रजाईँ
बखत र बेला-बेलामा
बाटोमुनि लुकेको छेपारोले जस्तै फेरेर रंग
निराशाको घुम्टो ओढेको रातहरूमा
आशाको जुनकीरी बन्दै हिँड्छ
अवर्णनीय पीडा र व्यथाहरूको कथामा
अज्ञात कोरस काल्पनिक पात्र बनेर
सीमान्तकृत रंगमञ्चहरूमा
न्यायको प्यासले तिर्खाएका
अन्याय खेप्दै बाँचेकाहरूको निम्ति
वकालत गर्ने वकिल बनी टोपल्छ
म मान्छे रे !
पराजयहरूको हारमा हौसला कायमै गर्दै
फगत एक्लो मान्छे बनी हिँड्दा-हिँड्दै
उद्देश्य खोज्ने इच्छा नहुँदा-नहुँदै
धकेलिएर अगाडि बढ्ने रहर बन्छ
इमान्दार छु भन्ने देखाउन
सौजन्यद्वार जुटेको दोसल्ला ओढेर
ठाउँ-कुठाउँमा अभिनन्दन हुन्छु
भ्रमको अभिमान बोकेर हिँड्दा-हिँड्दै
अचेल ब्रेन वाश गरेको
मेसिनजस्तै मान्छे बन्न आँटेको छु
प्रयास गर्नुपर्छ भन्ने थाहा पाएर
सापटीमा लिएको बुद्धि खर्च गर्दै
अफ्ठ्यारो असहजतामा पनि बाँचिरहेको नाटक गर्दैछु
म साँच्चैको मान्छे बन्न
खुशीमा विश्वास गर्न चाहन्थे
बिकाऊ विश्वासहरूको व्यापार रद्द गरेर
लिलाम नभएको चोखो मानव अश्मिताको रक्षक
बन्न चाहन्छु
निद्राविहीनको रातहरूसँग अनिदो रात बनेर
जमानाले परिभाषित गरेको
सक्कली मान्छे बन्न बनाएका
मर्यादित सक्कली सम्झौता पत्रहरूलाई
म स्वीकार गर्न चाहन्छु भन्दा-भन्दै
प्राथमिकतामा नपरेको अड्चन
पुरानो खिया लागेको छुरी बनेर रेट्दै छ
मानवताको घाँटीमा
पछुताएर बाँच्ने छैन भन्ने
कसमको भारीले थिचेको जीवनलाई
म अरुभन्दा फरक छु भन्ने देखाउने
चालाबाजी र होडबाजीमा
नराम्रो मान्छे म !
राम्रो बन्न राम्रोसँग बाँच्ने तरिका खोज्दैछु
नयाँ युगको नयाँ मान्छे, पुरानो युगको आदिम मान्छे
सभ्यताले बनाएको अदृश्य विराट कथा
तिमीसँग पानी चल्ने, मसँग पानी नचल्ने
तिमी मास्न नमिल्ने, म मास्न मिल्ने
भेदभाव ग्रसित कालो इतिहासको
चोट र घाउहरूले बनाएको खत
मलाई लाग्छ अब आराम हुन्छ होला
डाँडा माथिको
आकाशबाट चन्द्रमाले चियाउँदै छन्
म पनि मान्छे हुन् रे भनेर ।
पाँचखाल, काभ्रेपलान्चोक
हालः लिमासोल, साइप्रस



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

