समय लगभग झिसमिसे
एउटा ओरालो बाटो
डुब्दै गरेको घाम, पहँेलिएको निलो आकाश
चिसो चिसो हावा
सन्ध्या कोलाज

एउटा मान्छे हुत्तिएर उकालो चड्दै थियो
नियालेर हेरे चिनिन पछि लाग्यो
सबै मान्छे बिर्खे नै त हुन्छ
निर्धक बोलाएँ
ए बिर्खे कहाँ हिँडिस् ?
ऊ टक्क अडियो
मानौ ऊ कुनै अन्तर आवास खोजिरहेछ
मेरो जवाफहरू एकैछिन है भने जसरी
ऊ कोलाजमा देखिएको काठमाडाँै नियाल्न थाल्छ
म हेरिरहेछु
काठमाडौँ नियाल्दा उसका आँखाहरू रसाएका छन्
झन् झन् पर नियाल्दा झन् झन् गहिरो भएका छन्
उसको अनुहार मलिन भएका छन्

तर ऊ रुन आटेको हैन ऊ भावुक भएको छ

मेरो प्रश्न यति जटिल थियो र
उसले जवाफ यती भेयवित खालको छ
उसले काठमाडाँै नियाल्दै गर्दा
उसको मलिन आँखाहरूमा
मैले स्पष्ट देखेको थिए ।

उसको मायालु एक मुठ्ठा साग लिएर
फुत्त गल्लीभित्र छिरेको छ
ताजा जिन्दगी बोकेर

उसको आमा सिठ्ठी लागेको प्रेसर कुकर
आगोमा बसाउँदै
त्यही जिन्दगी पकाउन खोज्दै छ ।

उसको बाबु पुरानो नयाँ कागजहरूमा
त्यही जिन्दगी भेट्न खोज्दै छ
अनी
उसको मसिना भाई बहिनी
भाडा कुटी मिलाउँदै
त्यही जिन्दगी बनाउन खोज्दैछ

म उसको जिन्दगीको बारेमा सोच्छु भन्दा भन्दै ऊ बोल्छ
काठमाडौँ अब काठमडौँ रहेन
साला काठमाडौँ अब काठमाडौँ रहेन

यहाँको चोरका खन्तीहरूलाई
पूजा गर्ने बानी छ तपस्या हैन ।

यहाँको भगवान् भनौदाहरूलाई
हजुरिया चाहिएको छ सम्मान हैन

यहाँको मगन्तेहरू मुर्दाहरूलाई
कुलत लागेको छ आबस्त हैन

यहाँको पैसा पोजेहरूलाई
सँस्था चाहिएको छ सेवा हैन

यहाँको मन्दीरहरूलाई
भक्त चाहिएको छ देवता हैन

बाग्मती बिष्णुमती र धोबी खोला देख्दा
अब त रगत पनि रातो छैन जस्तो लाग्छ
बन्दै गरेको सडक छेउ उभिँदा
विकास हैन विनास जस्तो लाग्छ
बीआइसीसी अगाडिको अग्लो घर चड्दा
त्यो क्रान्ति थिएन आपराध थियो जस्तो लाग्छ ।

त्यो रगत लागेको बन्दुक
खै कसले कहाँ पुर्यो
त्यो सपना बोकेका मान्छे
खै कसले कहाँ मार्यो ?

घरैपिछे स्कुल कलेज छ
मान्छे शिक्षित भएन ।

घरैपिछे मन्दिर छ
मान्छे धर्मात्मा बनेन
साला काठमाडौँ, काठमाडौँ रहेन ।

म झोलाको काठुवा झिक्छु
उसको प्रसंग बदल्नलाई भन्न्ेछु

तिमीलाई सहरले बिर्खे बनाएछ
मलाई पहाडले बिर्खे बनायो
आउ बिर्खे बिर्खे मिलेर बिर्को खोलुम ।

ऊ फेरि बोल्छ
काठमाडौँ कुनै रक्सी भन्दा कम छ
अब त मुटु पनि कडा पथ्थर जस्तै बनिसक्यो
सानो तिनी बातलले कहाँ छुन्छ
साला काठमाडौं कुनै रक्सी भन्दा कम छ ।

आनी लगा लग मेरो काठुवा ठाडो घाँटी लगाएर
हुत्तिएर उकालोतिर लाग्छ
म ऊ गएको बाटो हेर्छु ।

तिमीलाई सहरले बिर्खे बनाएछ
मलाई पहाडले बिर्खे बनायो
सायद तिमीले काठमाडौँ चाँडै छाड्यौ
सायद मैले काठमाडौँ आउन अबेर गरे
अब तिमी मेरो पहाड बुज्दै गर
म तिम्रो सहर बुझ्दै गर्छु ।

तिमीलाई थाहा छैन

सुत्केरी आमा रगत नपाएर मर्दा कस्तो महसुस हुन्छ भनेर
एपेन्डीसाइटको बिरामी
किड्नी बेचेर हेलीकप्टर चाटर गर्दा
को बचाउनुको मार्नु भनेर

पछि कुनैदिन भेटुला अनी तिम्रो सहर भन्दा भिन्न
मेरो पहाड भन्दा भिन्न
एउटा बिर्खे सहर बनाउन पर्छ
एउटा बिर्खे सहर बनाउन पर्छ