आमा, यसपालि पनि
दशैंमा आइनँ है दु;ख नमान्नु
सम्झिनु छोरो कर्तव्य पूरा गर्दैछ
सोझो गर्दैछ नुनको

जमरा र अक्षताले केही वर्ष
प्रतीक्षा गरून् मेरो निधारको
सम्झिनु एक दिन
जून उदाउनेछ त्यो झुप्रोमा पनि

ठिकै छ त अग्निपरीक्षा
बैदेहीले माकिन दिनु हरेक युगमा ?
गरिबको सन्तानले दिँदा
के बिग्रन्छ यो युगमा?

रातो टीका र निधारको
केही वर्ष त हो बिछोड भएको
जन्मभूमिको माटोको टीका
हरेक दिन लगाएकै छु त यहाँ
बाको आँखा धमिलो थिए ऊ बेला
अब त देख्न छाडे होलान्
म फर्की आउन्जेलसम्म
मलाई बाले चिन्लान् त आमा?
पुतलीजस्तै आँगनमा उफ्रने बैनी
ईन्द्रेनी झैँ सपना बुन्ने भइहोली
भाइटीकामा सयपत्रीको माला उन्दै
मेरो गलाको प्रतीक्षा गर्दी होली

आमा भन्दिनू बहिनीलाई
केही वर्ष सयपत्री ओइलाउन देऊ
देउसे र भैलेनीलाई माला लगाइदेऊ
अनि बोटमै फूल्नदेऊ मखमली

भाइका काँधमा
व्यवहारको भारी
सगरमाथाजस्तै भारी होला
बालाई लागेको ऋणले
भतभती पोल्दो हो

आमा धनको खानी
समुद्र जतिकै गहिरो रहेछ
सम्झनू, छोरो निस्कदैछ बाहिर
वैभवको भारी बोकेर

देवकोटा हुन सकेन भन्ने
सुनका थैला हातका मैला
सम्झनु छोरो टुप्लुक देखिन्छ
बिहानी घामझ‌ैँ
अनि हराउनेछन् अँध्यारो
हाम्रो गरिबीको ।