धर्ती हुँ म
तर जमिन मेरो होइन
सूर्य हुँ म
तर प्रकाश मेरो होइन
समय पनि म नै हुँ
तर घडी पला मेरो होइन
हेर न माथिको
त्यो नीलो आकाश
त्यो पनि म नै हुँ तर
तर चन्द्र सूर्य मेरा होइनन्
न त आकाशमा उड्ने
चरा चुरुङ्गी मेरा हुन्
बेला बखतमा आउँछन्
मलाई गिज्याउँछन्
गिजोल्छन्, भुत्ल्याउँछन्
चिमोट्छन्
अनि जान्छन्
म चुपचाप सहिरहन्छु
हिमालको सेतो हिउँ
म नै त हुँ
तर हिमाल मेरो होइन
कहिले म ढाकिन्छु
कहिले स्वयम् लम्पसार परेर
हिमाललाई छोपिदिन्छु
कहिले ढिक्का बन्छु
अलिकति न्यानोमै
पग्लिएर बहिदिन्छु
कहिले म खोला बन्छु
कहिले नदीनाला
कहिले झरना बनिदिन्छु
पानी हुँ म
अनन्त छु म
म अनि
मजस्ता असंख्य मिलेर
त्यो विशाल समुद्र बनेको हो
तर अहँ त्यो विशाल समुद्रमा
मेरो कुनै हक छैन
कहिले म आँधी हुन्छु
कहिले सुनामी
कहिले ज्वालामुखी
कहिले शान्त बसिदिन्छु
कहिले रुख अनि
कहिले शितल
कहिले लहर
केही नभएर पनि
सबै चिज मै हुँ
सबै भएर पनि
मेरो केही छैन
किनकि म नारी हुँ
टुक्रा टुक्रामा
बाँडिएको छु म
म आफैं पनि
मेरो होइन
किनकि म नारी हुँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।