खै कसरी भन्न सक्छु म विषाक्त युगका परमाणुसँग
“के माग्दैछ माटो!?”
जब यहाँ मानवता रोइरहेछ, आधुनिकताको नाउँमा राष्ट्रियता बेचिँदैछ
“भन्दा सुनिन्छ” भूमण्डलीकरणको ग्रिन्डरमा डायस्पोराको सातु पिसिँदैछ
यहाँ यस्तै छन् यहाँ विश्वासका भ्रमहरू
यस्तै छन् यहाँ विकासका शर्तहरू

आधुनिक बन्ने होडमा
दिनहुँ देख्छु यहाँका चोक गल्ली र सडकमा
नारीहरू सौन्दर्यको बिस्कुन सुकाएर हिँडिरहेछन्
“अनि हुनसक्छ” पौरुषत्व नशालु वातावरणमा मांसभक्षी गिद्द र बाजहरुद्वारा,
लुटिन्छन्… , चुटिन्छन्…. , र भुटिन्छन्……!
यस्तै छन् यहाँ विवशताका अर्थहरू
यस्तै छन् यहाँ नारीका कर्महरू… नारीका मर्महरू…।
“अनि फेरि” तिनै नारीहरु थुप्रै वस्तुको विज्ञापनमा
नारी अस्मिता र सुन्दरताको
सस्तो मूल्य तोक्न विवश हुन्छन्;
त्यसैले थाहा छैन मलाई विषाक्त युगका परमाणुसँग
के माग्दैछ माटो
सडक-सडकमा मस्तीको धुँवा उडाउँदै
आजका युवाहरू, देश विकासका कर्णधारहरू
ड्रग्स र स्म्याक्सको नशामा लोलाइरहेका आँखाभित्र भविष्यको सुनौलो सपना साट्न विवश छन्
देशको सुनौलो भविष्य बिम्बित हुनुपर्ने युगल नयनभित्र आतंक, विद्रोह , र सन्त्राशका बादलहरू मडारिएका छन्
सगरमाथाको उचाइ छुने अभिलाषाहरु
आज तिनै अभिलाषा र रहरहरू महत्त्वकांक्षाको गोरेटोमा
घस्रिन थाल्छन् …. लतारिन थाल्छन् ।
थाहा छैन कुन गन्तव्यतिर हो
हिँडिरहेछ महत्त्वकांक्षाको गोरेटो
तर देखिन्छ एउटा भट्टी पसल
संकुचित महत्त्वकांक्षाका अधुरा सपनाहरू !
दया लाग्छ आज तिनै सिर्जनशील युवाका हातहरू
रक्सीका गिलास उठाउन व्यस्त छन्
केवल आत्मसन्तुष्टिको नाममा जीवन बेचिरहेछन्
त्यसैले म बुझ्न सक्तिन मर्म धुमिल माटोको
आज तिनै साँइली र माइलीका भट्टी पसलहरू
के-के नामका रेस्टुरेन्ट र बारहरुमा परिवर्तन भइसके
शायद यो पनि त समयको परिवर्तन नै हो
अनि परिवर्तन नै विकास हो रे !
क्रन्दन, चिच्याहट, र चित्कारमा नयाँ गुञ्जन थपेर,
जब नयाँ पुस्ताले गृहयुद्धको पप गीत गाउन थाल्छ
अनि फेरि आज तिनै लोक भाकामा, सारंगीका धुनहरूमा
नयाँ सुर र ताल थपेर गितारमा रिमिक्स ट्युनहरू बज्न थाल्छन्;
तिनै आधुनिकताका हिंस्रक प्रहारलाई सहन
त्यसैले म बुझ्न सक्तिन उद्गार रक्तिम माटोको
थर्थराइरहेछन् करोडौं स्पन्दनहरू यहाँ
सुरक्षाको प्रत्याभूति नपाएर
किनकि
हरेक गोधुली साँझसँगै प्रजातन्त्रको विकृत रुप
मानवीय नाता तोड्न तम्सिरहेछन्
उषाको चिरबिरसँगै हरेक दिन उदाउने गर्छन् नयाँ सन्त्राश बोकेर
शुभ प्रभातको आलोकसँगै नयाँ सन्नाटा छाउँछ
अकिञ्चन रहस्यहरूलाई बिहानीको तम्तमाइलो चियासित पिउँदै
सबेरै सँघारमा पसारिएका पत्रिकाका बाहिरी पृष्ठले
केही चहकिला अक्षर खोतल्दै
भँगेराटाउके हेडलाइनमा
ब्यानर न्यूजमा
पत्रिका
रेडियो
टेलिभिजन
सबै-सबै सबैतिर
कुनै दुखद् खबरको स्वागत गरिरहेको हुन्छ
चाउरिएका गाला, थोत्रो मझेत्रो अनि
मनभरिका बहहरू
विवशतामा साट्दैछन्
आफन्तका मृत्युसँग
हरेक नेपाली आमाहरू
त्यसैले भो बन्द गर अब यो लडाइँ
शहीदका आत्माहरू दुख्ने गर्छन्
श्रद्धाञ्जली दिँदादिँदै रित्तिइसके सबै आँशुहरू
तर खोइ यो संघर्षको गन्तव्य र निकास ?!
त्यसैले म बुझ्न सक्तिन सपना रक्तिम माटोको
अब यथार्थ आकांक्षा बाँझो बन्न सक्दैन
एक मुट्ठी विश्राम निल्न नपाउँदै
कुरुक्षेत्रमा निस्किएका
अनि, हरेक दिन महत्त्वकांक्षी सपना बोकेका
हाम्रै नेपाली दाजुभाइहरू
मृत्युसँग जीवन साटिरहेछन्
थाहा छैन कुन प्राप्तिमा, कुन लक्ष्यमा ?!
सायद दुई थोपा आँशु र सस्ता शहीदको
गर्विलो नामको लागि नै त होला
जब विज्ञानका वरदानहरू अभिशाप बनेर बर्षन्छन्
अनि फेरि बन्दुक र बारुदहरू सन्त्राश बनेर पड्कन्छन्
जुनसुकै बेला र समयमा कसैको सिउँदो उजाडिन सक्छ
कोही टुहुरा र अनाथ हुन सक्छन्
अनि बाँच्ने आस्था र विश्वासका धरोहरहरू खण्डहर हुन सक्छन्
अनि फेरि तिनै महत्वकांक्षाका प्रत्येक शिविरमा
भविष्यका सुनौला सपना रित्तिन सक्छन्
त्यसैले विश्वस्त छैनन् यहाँ स्वयं विश्वासका आदर्शहरू
यस्तै छन् यहाँ नवक्रान्तिका अधुरा सपनाहरू
त्यसैले थाहा छैन मलाई के माग्दैछ रगतले सिंचित भएको माटो
एउटा सङ्लो मन लिएर
उन्मुक्त हाँसो हाँस्न पाइन्न यहाँ
सन्त्राशको धुँवामा चिसो आकांक्षा
अनि बोझिलो मन लिएर
के बाँच्नु ? किन बाँच्नु ?
त्यसैले म बुझ्न सक्तिन उद्गार
रक्तिम माटोको
विषाक्त युगका परमाणुसँग
के माग्दैछ माटो ?

 

बर्दघाट-१०, नवलपरासी
हाल: ओस्लो, नर्वे