अपमानको साटो इज्जत खोज्न
मैले हातमा पासपोर्ट बोक्न पर्छ
सरकार, यहाँ घरको चुलो बाल्न
प्लेनको पखेटा हल्लाउनु पर्छ

अचेल आमाले पनि बाध्य भएर भन्छिन्
छोरा बरु बिदेश जा !
तब लाग्छ
यो देश
केही आत्म निस्सार जीवित ढुङ्गाहरूको बगर हो
एयरपोर्टमा लाइन लाग्नेहरूलाई सोध्नुस् त
के विदेश जानु रहर हो ?

जब पाखाको अर्ग्यानिक श्रमलाई
आफ्नै शहरले हेप्न थाल्छ
जब सर्टिफिकेटको झोला गह्रुँगो भएर
आफ्नै मगजलाई थिच्न थाल्छ
जब गुरुले तिमीलाई अरब वा युरोपमा
काम लाग्ने कुरा सिकाउन थाल्छन्
जब बैनीले रोपेका सयपत्री छोडेर
परदेशको सपना गोड्न थाल्छे
देख्दै छु यो देश एउटा
लाचारीको प्रतीक झैँ
घृणाको कारखाना र अन्यायको खेलघर हो
त्यै पनि आफ्नो विचार कमेन्ट गर्नुस्
के विदेश जानु रहर हो ?

यहाँ बाँच्नेहरुको श्राद्ध गरेर
असत्तीहरु पिण्ड खान्छन्
अरुको लाशमा राजनीति उछाली
आफ्नो स्वर्गको सेटिङ मिलाउँछन्
घरमा छोरीलाई ताल्चा लगाएर
अरुको इज्जतको तमासा हेर्छन्
नेपाल आमाका अङ्ग बेचेर
न्यायमूर्तिले गर्व गर्छन्
प्रगति गर्नेले आत्महत्या गर्दा
समाचार बेच्नेले डबकामा आँसु झार्छन्
भए भरको नयाँ नेपाल काठमाडौँ भित्र्याएर
कर्णालीतिर ढाड बटार्छन्
हात बाँधेर लड्न लगाइन्छ
खुट्टा बाँधेर दौडिन भनिन्छ
सबैको पखेटा काटेको दिन पारेर
सरकारले सबैले उडून् भन्ने इच्छा राख्छ
के नेपालीपन अब गौरव हैन ? सिर्फ सन्त्रास हो? डर हो ?
जानुस्, पासपोर्ट बनाएर आउनुस् हजुर
त्यसपछि सोच्नुहोला
के विदेश जानु रहर हो ?

दुधौली -१, गिचिहानी, सिन्धुली