१. तिम्रै मार्ग पछ्याएर
सरस्वती श्रेष्ठ ‘सरू’
पहिलो गुरु, आमाबाटै खुल्यो ज्ञानको ताला
घर हाम्रो सबैभन्दा पहिलो पाठशाला
खेल्न सिक्यौँ, हाँस्न सिक्यौँ भोकमा रुन सिक्यौँ
परिवारका सबैसँग नजिक हुन सिक्यौँ
तोते बोल्दै, ताते गर्दै आइपुग्यौँ माथि
असल बन्न सुमार्गमा हिँड्नुपर्छ साथी
बाबाआमा जस्तै हाम्रा गुरु-गुरुआमा
ज्ञानको ज्योती बालिदिने उनै यी आँखामा ।
आफूभन्दा ठूलासँग बोलौँ आदर गरी
सानालाई मायाँ बाँडौ प्रेमको भाव छरी
मृदुभाषी, गुणकारी हामी बन्नुपर्छ
सफलताको शिखर चढ्ने मार्ग खन्नुपर्छ
यस्तै कुरा सिकाएर बन्यौ तिमी गुरु
तिम्रै मार्ग पछ्याएर हिँड्छौँ खुरुखुरु ।
********************************************
[साविक सूर्यपाल -१, सोतिपसल लमजुङमा जन्मिई हाल पोखरालाई कर्मथलो बनाउँदै साहित्यसिर्जनामा निरन्तर साधनारत प्रतिभा सरस्वती श्रेष्ठ ‘सरू’ (२०२५) पेशाले शिक्षिका हुन् । पोखरा प्रज्ञा प्रतिष्ठानकी प्राज्ञसमेत रहेकी कवयित्री ‘सरू’ पोखरेली युवा सांस्कृतिक परिवार, नारी प्रतिभा वाङ्मय प्रतिष्ठानलगायतका संस्थामा पनि आबद्ध छिन् । विभिन्न राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गरेकी उनले कविताका विविध विधामध्ये गीत तथा फुटकर कविता लेखनमा निरन्तर कलम चलाई सङ्ग्रह पनि प्रकाशित गरिसकेकी छिन् । बालसाहित्यतर्फ उनको ‘किट्टी’ नामक बालकथासङ्ग्रह प्रकाशित छ भने विद्यालयस्तरीय नेपाली विषयका पाठ्यपुस्तकमा उनका रचनाहरू पाठ्यसामग्रीका रूपमा समेत समावेश भएका छन् । कोपिला, नागरिक, बालप्रज्ञा, नवमाध्यम, बाल उदय लगायतका बालपत्रिकाहरूमा उनका बालकविताहरू प्रकाशित भएका छन् । बालसुलभ कोमल भावना, बालोचित सन्दर्भ, बालमनोविज्ञानको सफल र सबल प्रस्तुति, बालरुचि अनुकूलका विषयवस्तुको चयन आदि उनका बालकवितात्मक प्रवृत्ति हुन् । उनका बालकवितामा प्राकृतिक सौन्दर्यको जीवन्त चित्रणका साथै देशप्रेमी भावनाको कलात्मक, सुन्दर र लयात्मक अभिव्यक्ति पनि पाइन्छ । उनको प्रस्तुत बालकवितामा घरलाई ज्ञानको पहिलो पाठशाला र आमालाई पहिलो गुरु मानिएको छ र उनकै मार्गनिर्देशनमा रहेर अघि बढ्ने सङ्कल्प गरिको छ । कविता चौध अक्षरे सबाइ छन्दमा संरचित छ ।]
————————————————————-
२. मेरो शैशवकाल
आचार्य प्रभा
जन्मँदै म रुँदै आएँ
यो धर्तीमा आज
बालापनको व्यथा पोख्छु
आमाको काखमाझ
खानु, सुत्नु, उठ्नु ,रुनु
यही नै मेरो दिनचर्या बन्छ
शैशवकालमा शिशुलाई
यस्तै गर भन्छ
कोही भन्छन् आकाशको
जून तारा मलाई
अँगालेर चुम्बन गर्छन्
माया गर्छन् सारा मलाई
आमाकी गुडिया हुँ
बाबाकी परी
साह्रै राम्री छु रे म
सबले हेर्छन् घरी घरी
जब बोली फुट्न थाल्दा
पहिलो वाक्य आमा भनें
बाबाले अँगाल्दा मैले
बाबा,बाबा,बाबा भनेँ
जन्मँदा घरकी म
लक्ष्मी बनेर आएँ
कोठाको चारैतिर
ज्योति झैँ झलमल्ल छाएँ
*********************
[साहित्यका कविता, कथा, मुक्तक, लघुकथा, नाटक, गीतिकथा, गजल, भजन, हाइकु जस्ता विधामा कलम चलाउँदै आएकी आचार्य प्रभा२०१९मा दार्जिलिङमा जन्म भई हाल अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा हुन् । २०३४ सालदेखि साहित्य लेखनमा सक्रिय उनी विशेष गरी गीत गजल लेखनमा रुचि राख्दछिन् । उनका तिम्रो पर्खाइमा, ड्रीम्स (गीती एल्बम २०५१ ) ईश्वर बन्दना भजन (अडिओ २०५५ ) परदेशबाट (कविता सङ्रह २०६२ ), असह्य चित्कार गजल सङ्रह ( २०११ ), मायाको नाकाबन्दी (गीति सङ्ग्रह -२०७६) लगायतका कृतिहरू प्रकाशित छन् भने लघुकथा संग्रह प्रकाशनको पर्खाइमा छ । कोठे साहित्यिक यात्रा नामक संस्थाकी अध्यक्ष रहेकी उनी प्रतिभा निकेतन, साहित्य कला संगम जस्ता संस्थाकी सदस्य समेत रहेकी छन् । हाल उनी अन्तर्राष्ट्रिय साहित्य समाजको आजीवन सदस्यका रूपमा क्रियाशील छिन् । रेडियो नाटक , गीतिकथा लेखन आदिमा समेत उनको अनुभव रहेको छ । कवयित्री आचार्य प्रभाका करिब २०० जति गीतहरू रेकर्डिङ समेत भइसकेका छन् । सङ्ग्रहका रूपमा प्रकाशित नभए पनि बाल कविता, बाल गीत, बाल कथाहरू पनि उनले लेख्दै आइरहेकी छन् । उनले अमेरिकाको भर्जिनियामा नव दुर्गा नेपाली पाठ्शालामा अनलाईन जुम मार्फत बिगत १ बर्षअघीदेखि नेपाली विषय पढाउँ आइरहेकी छन् । प्रस्तुत मेरो शैशवकाल बालकवितामा कवयित्री प्रभाले आफूलाई जन्म दिने आमासँग बाल्यकालको स्मृति सँगाल्दै अनुभव आदान प्रदान गरेकी छन् । आफूलाई आमाकी गुडिया र बाबुको परीसँग तुलना गर्दै कवयित्रीले आफू लक्ष्मीका रूपमा घर भित्रिएकोमा खुसी समेत व्यक्त गरेकी छिन् । बालमनोविज्ञानमा आधारित यो कविता सबाई छन्द निकटको लोकलयमा रचिएको छ ।]
——————————————
३. कापी
रामप्रसाद पन्थी
सफा सादा पाना मेरा कापी तिम्रो साथी
पढ्ने लेख्ने काम गर पुग्छौ धेरै माथि
हिफाजत गर मेरो सधै साथ दिन्छु
तिमीलाई ज्ञानी बन्ने अवसर दिन्छु ।
पाना च्याती फाल्यौ भने मेरो चित्त दुख्छ
जथाभावी लेख्यौ भने मेरो शिर झुक्छ ।
रित्तो छु म खाली खाली प्राण भरिदेऊ
इतिहास अभिलेख बन्ने मौका देऊ ।
चित्र कोर रङ्ग भर नौलो रुप देऊ
कलाकार बनी जस तिमीले नै लेऊ ।
कथाकार कवि बन विचारक बन
नमानेर धक लाज आफ्ना कुरा भन ।
जति धेरै लेख्छौ साथी उति खुसी हुन्छु
शब्दसित खेल तिमी साथ मैले दिन्छु ।
ज्ञानी बन सीप सिक फेर आनीबानी
उपयोग गरी मेरो बन भाग्यमानी ।
*********************************************
[तम्घास–२, छापटोला, गुल्मी (हाल रेसुङ्गा न पा २ गुल्मी) मा जन्म भई साहित्य साधनामा समर्पित रामप्रसाद पन्थी (२०३८) शिक्षासेवी व्यक्तित्व समेत हुन् । विभिन्न साहित्यिक संस्थाहरूमा आबद्ध कवि रामप्रसादले कथा, उपन्यास, निबन्ध, कविता, गीत, बाल रचना जस्ता विविध विधामा कलम चलाउनुका साथै कृति तथा पुस्तक समीक्षा पनि गरेका छन् । उनको लेखनको मुख्य विधा बालसाहित्य हो । अझ यसमा पनि उनी बालकविता लेख्न औधी रुचाउँछन् । विषयवस्तुगत विविधता, लोकलयात्मकता, सरलता, बालमनोवैज्ञानिकता र रोचकता उनका बालकवितात्मक वैशिष्ट्य हुन् । उनको प्रस्तुत ‘कापी’ शीर्षकको बालकवितामा बालपात्र बनेका कवि पन्थीले कापीलाई साथी मानेका छन् र कापीको हिफाजत गर्नुपर्ने, पाना च्यात्न नहुने जस्ता सन्देश दिँदै कापीको बहु उपयोगिताका बारेमा समेत बालोपयोगी भाषाशैली र बालसुलभ कोमल शब्दका माध्यमबाट अभिव्यक्त गरेका छन् । प्रस्तुत कवितामा चौध अक्षरे सबाई लोकछन्दको प्रयोग गरिएको छ ।]
—————————————————————————————-
{ यस स्तम्भमा सहभागी हुन चाहनुहुने स्रष्टाहरूले आफ्ना बालकविता, फोटो र बायोडाटा nepalibalkabita@gmail.com ठेगानामा पठाउन सक्नुहुनेछ ।}
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला