अहिले म जहाँ उभिएको छु
त्यहीँबाट जीवनका आयामहरू हेरिरहेको छु
जसरी उभिएको छु
त्यही रूपमा
जति देख्न सक्छु त्यति लेखिरहेको छु
चाहन्छु— कोही नछुटोस्
चाहन्छु— केही नछुटोस्
सम्झिनुपर्ने, नसम्झिनुपर्ने
कोही केही नछुटोस्
धन्यवाद छ—
धुलोको यो कणलाई
आँधीहुरीबाट
चट्टानबाट
जोगाउँदै
आमाको काखमा
उनैले दिएको जस्तै सुरक्षा दिँदै
सँगै लिइहिँड्ने बतास
पृथ्वी, जल र वायुलाई धारण गरिदिने आकाश
म आफैँ अल्छी मान्दा पनि
फर्कीफर्की आइरहने जाँगरिलो सास
कोही नहुँदा, केही बाँकी नरहँदा पनि
साथ कहिल्यै नछाड्ने आश
तिमीलाई मेरो नमन छ
धन्यवाद छ—
पानीको यो थोपालाई
खडेरीबाट
सुनामीबाट
जोगाएर
मालीले पानीसँगै फूलमाथि
खन्याएको मायाजस्तै
ममता बर्साएर बगाउने लहर
विशाल सागरको सपना देखाउने रहर
म उम्रेको माटो
मलाई हिँड्न सिकाउने बाटो
मलाई ओत दिने घर
मलाई दुनियाँ चिनाउने शहर
उड्दै जाँदा भेटिएका गुँडहरू
गुरुजन र सरस्वतीका आशीर्वादहरू
सबैलाई मेरो नमन छ
धन्यवाद छ—
मलाई सम्झिरहेका प्रिय साथीहरू
मलाई बिर्सिसकेका प्रिय साथीहरू
मसँग हिँडिरहेका प्रेरणादायी प्रिय जीवनहरू
मलाई सतर्क राख्ने मेरा प्रिय दुश्मनहरू
मेरो पहिचान— मेरा भगवान् प्रिय बुबाआमा
यो बूँदलाई कान्ति दिने मेरी प्रिय जीवनप्रभा
हाम्रो प्रेमबागमा फुलेका प्रिय फूलहरू
अनवरत माया गर्ने प्रिय आफन्तहरू
सबैलाई मेरो नमन छ ।
धन्यवाद छ—
आफू चपिएर मलाई
आरोग्य र स्वाद दिने गाँस
आफू मेसिनमा टुक्रिएर पिसिएर मलाई
पहिरन दिने कपास
बादलमा बल्झिँदै, अल्मलिँदै
रविको आँगनदेखि
उज्यालो बाँड्दै
एकाबिहानै धरतीमा आइपुग्ने प्रकाश
तिमीलाई मेरो नमन छ
धन्य परमात्मा !
धन्य ब्रह्म !
सारा ब्रह्माण्डलाई मेरो नमन छ ।
(प्रकाशोन्मुख कवितासङ्ग्रह ‘अर्को कर्नाली’ बाट)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।