ढुङ्गालाई माटो भन्दा

ऊ पनि माटो भन्छ

माटोलाई ढुङ्गा भन्दा

ढुङ्गा नै भन्छ

आँ गर्दा जय जयकार गर्छन्‌

थपडी बजाउँछन्‌

आरती उतार्छन्‌

अनुयायी बलिको बोको हुन्छन्‌

भावी अधिकारीको आशमा

झण्डा हल्लाउने रहरमा

निर्देशित पछुवाहरू

अगुवाको इशारा पर्खन्छन्‌

भक्तलाई सही र गलतको परख छैन

मालिकको निर्णयको प्रशंसा गर्छन्

घातै भए नि झ्याली पिट्छन्‌

तै पनि अज्ञानी ठान्दैनन्‌

घर जल्दासम्म ठिक छ भन्छन्‌

खरानी बोकेर अनुदान थाप्छन्‌

गुलामी चरणदासहरू

जुत्ताको आवाज पहिचान्छन्‌

इशारा बुझ्छन्‌

नेतालाई राम अवतार ठान्छन्‌

रामको आलोचना पटक्कै सुन्दैनन्‌

दिनरात अभिनन्दनको गीत गाउछन्‌

गर्भैदेखि गर्व गर्छन्‌

खुशी पार्न भक्ति गीत गाउँछन्‌

अन्धोभक्ति सरुवा रोगझैँ फैलिदो छ

दल दलमा फसल पाक्दो छ

जन-जनमा निराशा पल्केको छ

भाषण रामायण पाठ भएको छ

घरघरमा भट्याइन्छ

विश्वासको भुगतान दरबार चाहन्छन्‌

मानौ कार्यकर्ता ज्यालादारी मजदूर हुन्‌

भुगतान विनियोजन बन्द हुँदा

सौदाबाजी गर्दै दल बदल गर्छन्‌

भक्ति रसिलो बनाउछन्‌

नगदनारायण भुगतान गर्छन्‌

दुष्कर्म दु:ख कष्ट हरणको बीउ छ

कतिलाई घचेट्छन चिमोठ्छ हुत्याउँछ

लेखाजोखा कहाँ छ

झेली स्वस्थ्य प्रतिस्पर्धा बन्दैछ

पिछलग्गु संस्कार बन्दैछ

परिश्रमको रोटी भन्दा

बेइमानी गोटी विकसित छ

गरिबी हटाउन अन्धभक्तहरू

शोषणका रुप स्थापित गर्दैछन्‌

आफ्नै गरिबी उचाल्दै छन्‌

अन्धभक्तहरू

जुठोपिरो खान पाउँला भन्दै

टुलुटुलु हेर्दै र्‍याल काढ्दै छन्‌

कुपु कुपु हसुर्दै गरेको हेर्दै छन्‌ ।

 

• महालक्ष्मी-०१, ललितपुर