म नागरिक हुन
आफ्नो देशको स्वामित्व लिन
सत्रौ वसन्त पार गर्दै
गाउँ मुचुल्का, वडा, पालिका धाउँदै
एक थान नागरिकताको लागि
एक थान राष्ट्रिय परिचयपत्रको लागि

मलाई सगरमाथाको ताजको गर्व थियो
देशको सुन्दरताको मोहनी थियो
विश्व सम्पदा सूचीको सूचीकृत सम्पदा हेर्दै
प्रकृतिको मनमोहक छटा हेर्दै
छहरा झरना कलकल आवाजसँगै
मन छ रमाउने सयर गर्दै

जब म वयस्क हुन्छु
आमाको काखबाट आफैँ चाहा खोज्छु
नून तेल भुटुनको जोहो गर्न
भोको पेटमा दाउन भर्न
म देशको कुना कुना चहार्छु
सके जति खोज्छु सोहोर्छु

तेतिमा मेरो भोक मेटिन्न
जति खोजे पनि भेटिन्न
अब मैले आफ्नी प्रेयसी खोज्नुछ
जिन्दगीको सहयात्री रोज्नु छ
आमाको रहर पूरा गर्नु छ
बाबाको आदर्श जोगाउनु छ

भाइको अभिभावक बन्नु छ
बहिनीको माया बन्न्नु छ
दिदीको माइती बन्नु छ
आफन्तको उदाहरण बन्नु छ
समाजको तारा बन्नु छ
त्योभन्दा म आफैँ मान्छे बन्नु छ

म मान्छे बन्न मैले श्रम बेच्नु छ
श्रमसँगै भरोसा बेच्नु छ
साहराको बैशाखी भाँच्नु छ
जानी‑नजानी मयुर नाच्नु छ
यो कुनै रहर होइन
मतलबी सहर होइन

म एकथान नागरिकतासँगै
एक थान राष्ट्रिय परिचयपत्रसँगै
राहदानीमा लालमोहर लगाउँदै
एक चिम्टी अक्षता लगाउँदै
खादा माला भिरेर
सबको मन चिरेर

आँशुमा पौडी खेल्दै
समस्याको जालो झेल्दै
प्रेयसीको कमलो मन रुवाउँदै
आमाको कठोर मन रुवाउँदै
त्यो नागरिकताको खास्टो लिएर
म अनागरिक हुँदैछु।