लाग्छ प्रकृतिले पनि
आफ्नो सुन्दर यौवनलाई
कतै बन्धकी राखेकी छ सायद
त्यसैले अचेल
हरियाली सुक्सुकाउँदै
बिहानीको शीतसँगै आफ्नो आँसु मिसाएर
झुल्के घामसँग रोदन पोख्ने गर्छे
अफ्सोच! शीत आफैँ निरीहताको शिकार हो

प्रकृतिको चित्कारले अझ ऊ
कम्जोर बन्छे
किनकि ऊ
फूलहरूको क्रन्दनको आँसु पनि हो
जब बगैंचाका फूलहरू सुन्दरताको पर्याय बनेर
फुल्न खोज्दा पापिष्ट हातहरूबाट
निमोठिन्छन्
घना जंगलको हरियाली पनि
निर्दयतापूर्वक डढेलोको शिकार बन्न पुग्छ
रनबन उफ्रिंदै कुद्ने ती मृग, खरायोको
बास लुटिएको छ
लहलह धानको बाला झुल्ने माटोमा
ठडिएका छन् गगनचुम्बी महलहरू
उड्न छाडेको छ
गाईवस्तुको पद्चापको धुलो
गोधुली साँझको रंगीन क्षितिजमा
किनकि
छैन वातावरण साँझमा घर फर्कने
चरणमा गएका बस्तुहरूको
कहाँ छ ? अचेल गाउँघरमा पनि
गाईवस्तुको गोठ?
खसीबाख्रालाई घाँस बाँध्ने टाट्नो ?
अनि घोंडा बाँध्ने तबेला?

आधुनिकताले छपक्क छोपेको छ गाउँघरलाई
यान्त्रिक बनेका छन् मानिसहरू
विकृतिमा परिभाषित छन्
प्राकृतिक कुराहरू
जहाँतहीं हैकम जमाएको छ उजाडताले
तब प्रकृति रुखो किन नबनोस् ?
हरियालीले मनको बह किन नपोखोस् ?
जस्को सौन्दर्यता बन्धकीमा परेको छ
जो लिलामीको आह्वानमा
डाक बडाबडमा अल्झेको छ
हामी दानव
पशु हत्यामा अहमता कुर्लिन्छौं
बनस्पति मासेर
बनावटी बास्नामा मग्न बन्छौं
खै! मानवता हामीभित्रको ?
न’हामीलाई प्रकृतिप्रति तृष्णा छ
न’हामीलाई आफ्नो माटोप्रति
सद्भाव छ
यही माटो, यही प्रकृतिलाई हामी
बैरी सोच्छौं
हामी नै प्रकृतिको दुश्मन बन्दै
हरियाली बन्धकमा राखेर
रुखो मन बाँची रहेछौं
अनि… हरियालीको वेदनालाई
उपहासमा उडाई रहेछौं ।

भर्जिनिया, कोलोराडो