हरदम यहाँ झाँङ्गिएका लाञ्छनाको टुसा

चोट पाउने भ्यागुतो उही धान काट्ने मुसा

 

किन बन्छन् घरिघरि आँसु हतियार

अंशियार नि भयो लौन कसको मतियार

 

द्वन्द्वात्मक भौतिक क्रान्ति जुन दिन आयो

यही धर्ती प्राणी बीचमा अशान्तिले छायो

 

जलाउन झिल्को काफी आगाको बीउ

घर बिगार्न पर्याप्त छ झगडाको निहुँ

 

काखी च्याप्या कुकुरले शिकार गर्दैनन्

कसैले नि ताउलोमा सामल भर्दैनन्

 

धेरै आग्रह गरेको थेँ मानचित्र पढ्न

सादाजीवन उच्चविचार लिई अघि बढ्न

 

डुङ्गाको पाइला जस्तै भयो मेरो बोली

अविरल बगेको छ डोब मेटाउँदै खोली

 

पुँजीवाद ढोगेको छ धन छरेर चोला

कलम भन्दा तरबार  मन परेर होला

 

माथि देखि मैदानसम्म बसेका छन् टुस्स

शासकलाई कोसेली अनुयायी ठुस्स

 

उहिलेदेखि अहिलेसम्म जुन गुन लाएँ

आजीवन शत्रुको सदस्यता पाएँ

 

स्वतन्त्र हुन चाहेँ अब मैले पनि

बाटो छेक्न नआऊ मेलमिलाप बनी

 

न त पार्टी न त झण्डा न त विचार मिल्छ

न त त्यो सगोल भान्सा यो घाँटीले निल्छ

 

हत्या हिंसा गरिवरी दानव माथि पुग्यो

बुझिन्न अचेल यहाँ मानव किन झुक्यो

 

हजुरका समाउने दलको  फेरो बेग्लै

समर्थन नजनाउँदा भएको छु एक्लै

 

अग्नि साक्षी राखीवरी लगाएको नाता

जीर्ण क्षीण बनेको छ सम्बन्धको छाता

 

फरक धार फरक झुन्ड भई आगो पानी

दूषित भई कतिञ्जेल चलाऊँ जिन्दगानी

 

मौलाएको बेथिति अनि नातावादको

आयातीत संस्कृति धनी दातावादको

 

आलो पालो गर्दै आए काला अनि गोरा

लुछेका छन् छिनाएर सद्भावको डोरा

 

शिक्षाको सारथिलाई थाङनामा सुताइ

गुरुलाई निराश पार्यो अपमानले कुटाइ

 

थाली माथि फूल सजाई बुझ्ने भए सब

ब्रह्मा विष्णु महेश्वर ओठमा आउलान् तब

 

त्यो हातले यो हातमा भिक्षा  दिए हुन्थ्यो

सन्यास भई जाँदाखेरि सन्तोष लिए हुन्थ्यो

 

आधा आकाश कालो बादल अनि त्यहीँ तारा

आशा लाग्छ स्वार्थी बाहेक भेट्न पाउँथेँ साह्रा

~~~~~

 

गजुरी -५, धादिङ