म शब्द हूँ,

मैले कमिज लगाउनलाई
मेरो शरीर पाइरहेको छैन,

यो सूर्यलाई अडाउन
राजा हेमकर्णसेनको काँध पाइरहेको छैन,
यो चन्द्रमालाई राख्न
राजकुमारी भृकुटीको निधार पाइरहेको छैन,
मैले कमिज लगाउनलाई
मेरो शरीर पाइरहेको छैन,

तमोर, बुढी गण्डकी नदीहरूलाई बगाउन
रानी राजेन्द्रलक्ष्मीको वक्ष पाइरहेको छैन,
आकाशलाई टेकाउन
राजा रणजीत मल्लको शिर पाइरहेको छैन,
जमिनलाई अडाउन
राजा जयस्थिति मल्लको हाड पाइरहेको छैन,
मैले कमिज लगाउनलाई
मेरो शरीर पाइरहेको छैन,

यो सयपत्रीको बोट रोप्नलाई
राजा शिवदेवको मुख पाइरहेको छैन,
धानका गराहरू राख्नलाई
राजा महेन्द्र मल्लको छाती पाइरहेको छैन,
म शब्द हूँ
मैले कमिज लगाउनलाई
मेरो शरीर पाइरहेको छैन,

पूर्वलाई अडाउन
राजा धर्मदेवको नितम्ब पाइरहेको छैन,
वर्षालाई अन्तरिक्षमा बाँध्न
रानी राज्यवतीको ढाड पाइरहेको छैन,
मैले कमिज लगाउनलाई
मेरो शरीर पाइरहेको छैन,

पिपलका पातहरू अडाउनलाई
राजा द्रव्य शाहका हातहरू पाइरहेको छैन,
झरनालाई टाँस्न
राजा राय मल्लको कुम पाइरहेको छैन,
गाई बाँध्नलाई
राजा वसन्तदेवको कम्मर पाइरहेको छैन,
म शब्द हूँ
मैले कमिज लगाउनलाई
मेरो शरीर पाइरहेको छैन,

कमिजको दाहिने बाहुलामा पसाल्नलाई
राजा मानदेवको दायाँ हात पाइरहेको छैन,
देब्रे बाहुलामा छिराउनलाई
राजा अंशुवर्माको बायाँ हात पाइरहेको छैन,
मैले कमिज लगाउनलाई
मेरो शरीर पाइरहेको छैन,

कलर मिलाउनलाई
राजा पृथ्वी नारायण शाहको घाँटी पाइरहेको छैन,
टाँक लगाउनलाई
रानी लालमतीका औँलाहरू पाइरहेको छैन,
सुहाएको नसुहाएको हेर्नलाई
राजा यलम्बरको धड पाइरहेको छैन,
म शब्द हूँ
मैले कमिज लगाउनलाई
मेरो शरीर पाइरहेको छैन,

राजा सिद्दिनरसिंह मल्लका कानहरू नपाएर
मैले चराका गुँड राख्न पाइरहेको छैन,
राजा जयदेवको पिठ्यूँ नभेट्टाएर
मैले घरमा ढोका हाल्न सकिरहेको छैन,
म शब्द हूँ
मैले मेरो शरीर नपाएर
कमिज लगाउन सकिरहेको छैन,

दुःखहरू राख्नलाई
राजा लक्ष्मीनरसिंह मल्लको अँजुली पाइरहेको छैन,
यत्रो विघ्न दिनहरू थन्क्याउनलाई
राजा नरभूपाल शाहको मुख पाइरहेको छैन,
यी रातहरुका चाङ राख्नलाई
राजा रुद्रसेनको काख पाइरहेको छैन,

म शब्द हूँ,
मैले कमिज लगाउनलाई
मेरो शरीर पाइरहेको छैन ।