झ्याम्म लाग्यो राम प्रसाद
तिम्रो अलंकार
तिम्रो बन्दुकझैं पड्केको बिम्ब,
चलाइरह्यौ तिम्रो सर्पिलो जिब्रो
र फुकाई रह्यौ माउसुलीको मुख
मकै भुटेर फुला उठेझैं
कविताको फुला उठायौ
शब्द र अक्षरहरू सुकाएर बिस्कुनझैं
साथीभाइ एउटै मझेरीमा जुटायौ
धन्य हौ राम प्रसाद तिमी !

इरानको मरुभूमिमा
गजल गाउँदै
संदेश पुर्यायौ र सम्झिन पुग्यौ
बन्दुक सुनेर
बारुद पिएर
तेजाबभित्र बाँचेकी
सिरियाकी छोरी !
आमाको सम्झनामा
हाम्रै आँगनमा नाचेर
निर्मलाको हत्याको
शोक धुन बजाउँदै
एकछिन शोकाकुल देखियौ
र राजाहरूलाई आक्रोश पोख्यौ
ए ! रामप्रसाद
कहाँ पुगेनौ तिमी
शब्द‑शब्दमा देश कुद्यौ
अक्षर‑अक्षरमा सागर
लयमा आनन्द र
बिम्बको उत्कर्षमा
विद्रोह न्यायको नारा
पहरा कन्दरा अनि शहर
कविताभित्र जुलुस
ए ! राम प्रसाद !
भ्यायौ राम प्रसाद भ्यायौ !!
संसार ब्युँझायौ !
निम्तो छ फेरि पनि आऊ है
चटनी लिएर पिरो
अदुवाको अचार अनि
साँधेको निबुवा पानाभरि !
हेलो राम प्रसाद !
अब हुने उत्सव
महाकविको सम्झनामा
अलिकति शितलता
अलिकति हावा
र अलिकति मह
झोलामा राख्नु है !
लौकाको बियाँ गनेर शब्दका
धेरै परेवाहरू घुर्ने छन् त्यहाँ
तिमी नझिँजाउनु नबिझाउनु
केवल
तिनका पंखाहरू
शब्दका थोपाहरू उनेर
कविता पोखेर भिजाउनू
बाई राम प्रसाद !

 

बेल्जियम