बाबा के लेख्नु भाको?
पाँच वर्षे छोरा छेउमा आयो र भन्यो
पढ्न नजाने पनि निहालेर हेरी रह्यो
उसमा कौतुहलता थियो
बालकका बाल चेतनाहरू
मैदान खोज्दैछन्
खेल्न चाहन्छन्
अनि दौडन लालायित छन्
खुल्न फुल्न अनि फक्रिन चाहन्छन्
मैले भनेँ‑
बाबु…”बा” शीर्षकमा कविता लेख्दैछु
ए…उसले बुझेन तर बुझेझैं गर्यो
ऊ अबोध थियो
उसको हेराई झन् अबोध थियो
तर जान्ने चाहना थियो
“बाबा कविता भनेको के हो?”
म कसरी बुझाऊँ तिमीलाई ?
“मनको बह हो अनि भोगाइ हो
जीवनको त्याग अनि रोजाई हो
तिमी हौ, म हुँ अनि अनगन्ती हो
शुरुवात हो अनि अन्त्य हो
तर मैले भनेँ…
“तिमी ठूलो भएपछि बुझ्छौ नि है?”
उस्ले फेरि स्वीकार जनायो
भर्खर अक्षर चिन्न थालेको छ
मेरो कविताको
“बा बुढो” शब्दमा आँखा लगाएछ
बाबा “बूढो” भनेको के हो?
हजुरले हजुबालाई भन्नु भा हो?
हजुबा बुढो मान्छे हो? किन बुढो भन्नु भा?
म कसरी सम्झाउँ तिमीलाई
“मान्छे उमेर ढल्किएपछि बुढो हुन्छ
जीवनका रङहरू खुइलिएपछि
इतिहासको पाना भरिएपछि
जिन्दगी लेख्ने कलम रित्तिएपछि
मान्छेको पनि उत्पादन मिति हुँदोरहेछ
अनि उपभोग्य मिति सकिएपछि बुढो हुन्छ”
तर मैले भनेँ‑
“किन चाहियो र तिमीलाई?
सानै छौ आफैं जानी हाल्छौ नि है?”
अझै ऊ कौतुहल मै छ
बाबा हाम्रो हजुबा किन उठ्न सक्नु हुन्न?
किन हिँड्न सक्नु हुन्न?
खै कसरी अर्थ लगाउँ तिमीलाई?
“त्यस्तै हुँदोरहेछ बाबु
पाखुरीमा सामर्थ्य हराएपछि
पसिनाको धारो रोकिएपछि
जीवनको धोको ठोकिएपछि
रहरहरू पोखिएपछि
भोगाइले परिणाम जोखेपछि”
तर मैले भनेँ बाबु‑
तिमी आफैँले भोगेपछि जान्दछौ नि है?
हस्, ईशारामा ऊ सहमत थियो
ऊ आज धेरै जान्न चाहन्छ
किनकि उस्ले
बुढो मान्छे नजिकै देखेको छ
पीडासँगै घुलमिल भै सकेको छ
उत्सुक छ, अनुमान र अनुभव चाहन्छ
बाबा
हजुबा पनि हजुर जस्तै हुनुहुन्थ्यो हो?
हो बाबु, मभन्दा तगडा हुनुहुन्थ्यो नि
सेनाको जागीर थियो
तरवार भिरेर हिँड्नु पर्थ्यो
बन्दुक बोक्नु हुन्थ्यो
देशकै लागि मरिमेटेर दुश्मन ढाल्न सक्नु पर्थ्यो
हाम्रो लागि शरिर दाउमा राखेर
पुरै घर धान्नु हुन्थ्यो
सबै परिवारलाई पाल्नु हुन्थ्यो
ईच्छा र आवश्यकता टार्नु हुन्थ्यो
अहिले मात्रै त हो नि
“भरिएका नशाहरू सुक्न थालेका
जोशिला जोशहरु लुक्न थालेका
खाटा नबसेका घाउहरू दुख्न थालेका”
तर मैले भनेँ बाबु-
“म पनि भोलिपर्सि हजुबाजस्तै बुढो हुन्छु नि है
खै के बुझेर हो टोलाई रह्यो
केही भन्न खोज्दै थियो
उसको गला अवरुद्ध भयो
आँखामा टिलपिल आशुँ भरियो
सायद उ चाहन्छ
बाबा सधैँ नौ जवान रहिरहोस्
ऊ पटक्कै चाहँदैन
भरिलो मुहार चाउरिएको होस्
पोटिलो शरीर दाउराझैँ होस्
त्यसैले त अझै बुझ्न खोज्दैछ
बाबा हजुर पनि आफैँ खान सकिसिन्न र?
हजुर पनि उठ्न सकिसिन्न र?
हजुबालाई जस्तै ख्वाई दिनुपर्छ हो?
आची गर्न बोकेर लगिदिनु पर्छ हो?
काखमा थपक्क बस्यो
गालामा चुप्प म्वाइँ खायो र भन्यो
हजुर त कहिल्यै बुढो नहुनु है?
अघिसम्म ऊ अबोध थियो
अहिले मलाई ऊभन्दा अबोध बनायो
मन ढक्क फुल्यो
ऊ घुँक्कघुँक्क रोयो म पनि सँगै रोएँ
के जवाफ दिऊँ, शून्य भएँ
मात्र हस् भनेँ ।
एकता बस्ती,
काठमाडौँ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।