कुकुर पाल्न मन छ
अरु बस्तुभाउ फाल्न मन छ
कुकुर पालेर
अर्काको दैलामा हगाउन मन छ
मुताउन मन छ
सँगै सुताउन मन छ
कुकुरलाई ख्वाइदिन मन छ
सेम्पुले नुहाइदिन मन छ
डोर्‍याएर गाउँ चाहार्न मन छ
बुढा बाआमा भाडमा जाऊन् …
दुःख गरेर कुकुर स्याहार्न मन छ
सबैभन्दा प्रिय इष्ट बनाउन मन छ ..

कुकुर पालेर …..
भ्रष्टाचारीलाई भुकाउनु छ
व्यभिचारीलाई सुघाउनु छ
कालाबजारीलाई ढोकामै रुगाउनु छ
अहम्‌को धुरी चढेकालाई नुगाउनु छ

यस्तो कुकुर पाल्नु छ …
जसले सुनभ्रष्टलाई सुघिदिंदा ऊ सुन होओस् ..
नुनभ्रष्टलाई सुघिदिंदा ऊ नुन होओस्
पैसाभ्रष्टलाई सुघिदिंदा ऊ पैसा होओस्
व्यभिचारीको व्यभिचार नष्ट होओस्
आतङ्‌ककारीको आतङ्क
बलात्कारी
दुराचारी
थरिथरिका काण्डका
भ्रष्टहरूलाई पनि सुँघाउन मन छ
त्यसैले एउटा कुकुर पाल्न मन छ

कुकुर पाल्दा एउटै कुराको डर छ
गेटमा ‘कुकुरदेखि सावधान !’
लेख्दा मेरो घरलाई कुकुरकै घर पो ठान्लान् कि ?
मान्छेलाई पनि कुकुर नै पो मान्लान् कि ?
दोधारमा परेको छु
तैपनि
मैले कुकुर पाल्ने विचार गरेको छु ।

 

हेटौडा-५, चिम्नीडाँडा