वर्षौँदेखि फूलहरूको
गोडमेल गर्दै, हुर्काउँदै, फुलाउँदै
आफ्नो गुमनाम
अस्तित्व बाँचिरहेछ माली
उसलाई के घाम, के पानी
न त ऋतु नै
हर समय फूल फुलाउने
र बगैँचा सजाउने
विचार बाँचिरहेछ माली
मल, पतिंगर होस् या
सफा पानी होस्
फूलहरूलाई नै
आफ्नो उमेरको
रङसँगै घोलेर
समयसँगै समर्पणको
जीवन बाँचिरहेछ माली

थाहा छैन
उसले कहाँबाट सिक्यो
विद्रोह गर्न
सायद
बेमौसमी फूलहरूले सिकायो कि?
या आफैँले सारेको फूलको
काँडाबाट सिक्यो?
माली आज
आफ्नो बगैँचामा
आफ्नो रङ खोजिरहेछ
आफैँले खनेका बाटोहरूमा
आफ्नो पदचिह्न खोजिरहेछ
कर्मभूमि माटोमा
झरेर भिजेका पसिनाको
आत्मसम्मान खोजिरहेछ ।