
तिमी नै अन्तिम अस्त्र !
छेदन र विच्छेदनको
प्रयोग अनि अनुप्रयोगको
कुनै दिन
सिकाएका हुन् उनै विद्वानले
विद्वान हुँदैन कहिल्यै पनि मुर्ख
सीमित जात, वर्ग र सीमाको
राख्दैन द्वेष
फैलाउँदैन घृणा
चिताउँदैन विनाश
निम्त्याउँदैन विपत्ति
गर्दैन षड्यन्त्र
अहँ ! पटक्कै गर्दैन कानेखुसी
ऊ त
छरिरहन्छ सदा सर्वदा
समानरूपले, न्यायसंगत हिसाबले
छरिरहन्छ उज्यालो किरण
नियमित रूपले – चारैतिर
उसले एकैचोटि बताएको त हो नि !
हाम्लाई पनि
राष्ट्र नष्ट गर्नुछ भने –
पारिदेउ ध्वस्त – भाषा,कला,संस्कृति र साहित्य
उजाड बनाइदेउ – सार्वजनिक शिक्षा
यही नै ब्रह्मास्त्र हुनेछ तिम्रो स्वार्थको
मेरो माटोमा कस्ले पढेन ?
नबुझेको को नै थियो र !
हिजो, आज र भोलि पनि
भो !
भोलिका नगरौँ कुरा
भोलि कस्लाई के थाह छ र !?
हिजो
हिजो नै भइहाल्यो
भो नदिऊँ दोष हिजोलाई पनि
तर, आज ?
आजलाई के भन्ने ?
नबुझेको को नै पो छ र ! ?
ब्रह्मास्त्रको जादु …!!
नबनाऊ तिम्ले त्यस्तो कानुन
जो – तिम्रो राष्ट्र बर्बाद गर्न
बन्नेछ ब्रह्माश्त्र
तिम्ले बनाइदेऊ यस्तो कानुन
जो – राष्ट्र निर्माणमा बन्न सकोस् – ब्रह्माश्त्र
हुन सकोस् पुनर्जागरणको दस्तावेज
त्यसका निम्ति
सुन्न तयार हौ एकपटक
मन्थन गर मस्तिष्कले
उघारिदेऊ नयन
आवधिक सत्ता स्वार्थको मारमा
नकुल्च शिक्षकको छातिमा
नबजारिदेऊ बुट
कृपया सुन्न तयार हौ – यी वर्गका कुरा
यी वर्ग यस्ता हुन्
जसलाई फेरि पढ त !
सक्दैनौ बोध गर्न यदि भने
फेरि
जीवनको यो कालखण्डमा
चरणमा जाऊ
सिकाउँछन् उसैगरी
जीवनको पहिलो पाठसरि
नआत्ती, नझर्की, माया गरेर
त्यसैले
बर्बादीको अन्तिम ब्रह्माश्त्र बन्नुभन्दा अगाडि
बनिदेऊ – निर्माणको ब्रह्माश्त्र
र,
पढिदेऊ
शिक्षक/ गुरु / टिचरको
चरित्र
शिक्षक,
शिक्षक वसन्त जस्तै हो,
जसले
नयाँ हरियो अंकुराउँछ बीज
दिन्छ प्रोत्साहन र गर्छ अगुवाइ
जहिले पनि बालबालिका अनि समाज
शिक्षक ग्रीष्म जस्तै हो,
जसको घमाइलो स्वभावले
बनाउँछ पढाइलाई रमाइलो
र
रोक्छ असन्तुष्टिलाई
एक शिक्षक ऐना जस्तै हो,
विधिहरू कुरा स्पष्टसँगै
छर्छ – उज्यालो रङका पाठहरू
खुसी वातावरणको साथ
शिक्षक जाडो जस्तै हो,
बाहिर कडा हिउँ परिरहेको बेला,
विद्यार्थीहरूलाई आरामदायी राख्ने,
न्यानो र सहयोगी मार्गदर्शकको रूपमा
हो, त्यति पढेपछि तिमीले
अब त
बुझेको हुनुपर्छ यति
गुरूज्यू,
तपाईंले यी सबै कुराहरू
गर्नुहुन्छ रमाइलो मनोवृत्तिले
तपाईं
सबै मौसमहरूको लागि शिक्षक हुनुहुन्छ,
त्यसैले,
जहाँ छौ तिमी
स्वाभिमानी शिक्षक र उनीहरूका पीडा मात्रै हैन,
राष्ट्र सिध्याउने ब्रह्माश्त्र हैन
पुनर्निर्माण गर्ने – अन्तिम ब्रह्माश्त्र बनिदेऊ
विद्यालय शिक्षा विधेयक ऐन – २०८०
यो नै राष्ट्र निर्माणको – अन्तिम अश्त्र हुनेछ
यदि
बुझेर कुरा, पाल्यौ भने दम्भ
राख्यौ भने द्वेष
बन्नेछ यही ऐन, मतियार बन्नेछौ तिमी पनि
पुर्खाको यो छातिमा – अन्तिम बिदाइको – ब्रह्माश्त्र ,
भन !
अब तिमी के रोज्छौ ?
पुनर्जागरणको महापुरूष कि ?
अस्तित्व नामेटको कुलङ्घार कुपुत्र ?
रोज,
अन्तिम ब्रह्माश्त्र !!
*****
वसन्त खनाल
वालिङ्, स्याङ्जा
राजेन्द्र भवानी मावि भीरकोट नपा – ५, स्वरेक मैदान



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

