भोकले
भोकको झोंकमा
भोक – भोकै करायो
पेट र लिङ्गको
एकै सर्त छ
भोकको निराकरण
छक्क छुइन
सम्झनाका
हिउँका रास
छोएर बहने
झन्झनाका
शितल बतास
लहरा पहरा
उसै बगिजाने
छहराहरूको देश
हा–हा हो–होमा
भीर नभनी
हुस्सै फलान्ले
वीरहरूको देश
बाउन्ने सगरमाथा
बरु अग्लो
म छु, म भोक
भोकले
भोकको झोंकमा
भोक – भोकै करायो
पेट र लिङ्गको
पहिलो खोज हो
भोकको निराकरण
खोज
सुरक्षाको भोक
खोज
सुविधाको भोक
खोज
सन्तुष्टिको भोक
खोज, अनि
कृति र अस्तित्वको भोक
मूलतः, तह–तहमा
भोकबाट स्वतन्त्र रहने भोक
नाङ्गै रहने स्वतन्त्रता बोकेर
रित्तो रहने स्वतन्त्रता बोकेर
दासै रहने स्वतन्त्रता बोकर
भाइरल र मात्र उपस्थित
रहने स्वतन्त्रता बोकेर
छक्क छुइन
देश त उही हो
मध्यरातमा घरबाट निस्केको
सिद्धार्थ
मध्य दिनमा पिपलबोट मुनि नगई
सिधै अन्तर्राष्ट्रिय विमानस्थल किन जान्छ ?
किनकि
विचार भन्दा
देश भन्दा
स्वायत्तता भन्दा
भनौँ न
निर्वाण भन्दा
माथि नहोला
तर पहिला भने
भोक छ
अर्थ जे भन
पेट र लिङ्गको
पुरातनी–सनातनी
ठहर–रहर
भोकको निराकरण ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।