कस्तो बनिदियो मान्छे
ठ्याक्कै जुकाजस्तो
जो आफ्नाकै अस्तिव चुस्दछ

नौ महिना गर्भमा हुँदा चुसिरह्यो पाठेघर
र बचायो आफूलाई
पाँच वर्षसम्म, मायाका नाम टाँस्सिइरह्यो छातिमा
र, चुसिरह्यो आमाका स्तन
आमा नहुँदा कहिले चुस्यो बाबाको कुइना
कहिले आफ्नै बुढी औँला

हिँड्न जानेपछि
मुखहरू परिवर्तन हुँदै गए
र फैलिँदै गयो भोकको आयातन

पाइतलाहरू मुख बनेर खान थाले बाटोहरूलाई
हत्केलाहरू मुख बनेर खान थाले खेतका आलीहरू
हृदयले ताछीताछीइ आफ्नै शरीर
खाइरह्यो मासुका टुक्राहरू
मस्तिष्क फैलिएर रुपान्तरण भए शासकमा
र चुसिदिए अर्को मान्छेको सम्पूर्ण आयु

अन्ततः
मान्छेको मान्छे हुनको अहम् फैलेर
निलिदियो पृथ्वी

तर,
सिङ्गै पृथ्वी निलेर पनि
भोक मत्थर नभएपछि
मान्छे खाने तयारीमा छ
जून, आकाश
र पूर्ण अन्तरिक्ष ।