ऊ बेरोजगार भएर काम खोज्दैछ

म काम छोडी बेरोजगार हुँदैछु
म बेरोजगारभित्रै नयाँ काम खोज्दैछु
नयाँ कामहरूका बेजोड वेग छन्

मनग्य काम छन्,
कुन रोजूँ, अन्यमनस्कमा म छु !

म तौलन्छु आफैँलाई
मेरो ल्याकत सानो कि चाहना ठूलो?
मेरा कल्पना सानो कि मेरा अपेक्षा ठूलो?
चाहना र अपेक्षाले मेल नखाएको कि
एकले अर्कोलाई उछिनेको
भएको कामले नतानेरै त होला
अथाह अदृश्य काम खोज्दैछु
कुन दिशा जाऊँ, कुन विचार अपनाऊँ
दिनको उज्यालोसँगै रमाऊँ वा
रातको कालो अदृश्य भित्र डुबूँ
रात र दिनको अथाह फैलावटभित्र

मनग्य काम छन्
कुन रोजूँ अन्यमनस्कमा म छु !

मैले कामलाई चिन्न सकिनँ कि
कामले मलाई चिनेन
प्रस्ट म छु, काम ठूलो वा सानो छैन
आखिर हृदयको सन्तुष्टि नै त हो
मेरा सन्तुष्टि र कामबीच द्वन्द्व के को?
नयाँ कामहरूका बेजोड वेग छन्

मनग्य काम छन्
कुन रोजूँ, अन्यमनस्कमा म छु !

इमाडोल, ललितपुर