उनी जन्मे जागरणको बिहानीमा
अन्धकारमा ताराहरूसँग खेल्दै
झिल्काझिल्कीहरू समेटेर
समुद्रमा टल्केको मोतिझैँ
खालि कागजमा उज्यालो पोत्दै उनी हुर्किए

उनलाई आज सम्झिने पल
अर्थात भाद्र २५ को गोधुली
भोशिका टोलमा केही वर्षको पाहुना
रिपु मर्दिनी आमा
बेथाको दोस्रो प्रहर
त्यतैको वनकुञ्जले हुर्कायो,
बचायो र मन रसाउने बनायो

छरियो र काँशी पुग्यो कुमाउको आभा
बग्न थाल्यो जन्मेको छ वर्षमै फारसी र उर्दुको झरनामा
उनी भिजेर सुक्न नपाउँदै
संस्कृत र अंग्रेजीमा पोखिए
हरिश्चन्द्र ज्ञानशाला
पन्नालाल गुरुको सितार
गजल संगीतको धुनमा
कवितामा भिज्यो भक्त, गीत
महाभट्टको युवा जोश
बन्यो प्रकृतिमा बिज
र समुद्रमा लहर
मित्र मण्डलीको योगले
गगन मण्डल ओसियो

सेता कागजहरू रसाए
साँझ बिहान धुन चुहिए
जनजीवन सितियो
र तोते भाषा सलल बग्न थाल्यो

चम्किए शुष्क आचार्य भानु
बन्यो बाल भाषा वयस्क
बने भट्ट कवि गजलकार, लोक गायक
भयो सृष्टि समालोचनाको
वाक्य पग्लँदै गए र पुष्प रस बने

पस्यो छापाखाना गाउँ
प्रकाश छिर्यो आचार्यको रामायणमा
र मोती बने आचार्यमा भिजेर
चम्कियो राम गीता
बर्सन थाल्यो सृजनाको झरी
मोति बने चिरञ्जीवी

औँशीको चकमन्नतामा
ताराविहीन बन्दा गगन
बादलले ढाकेको थियो डाँडाकाँडा
दिनमा सूर्य अस्ताएझैँ
तीस वर्ष नपुग्दै निभ्यो टल्केको ज्योति
मोतीको चमक नीलो गहिराइमा विलुप्त भो

आज उनलाई सम्झने दिन
मलाई लाग्छ उनलाई बिर्सेको दिन
मेटिने छ बालकको तोतेबोली
सकिने छ अर्को बिहानीको उषा र गोधुली
भाषाको लय
हिमालयको पहिलो किरण
साहित्यको कैलाश पर्वत

हामी ढोका बाहिर छौं घरको
तर हामी छेउमै छौं मोतीको
र बाँची रहेछौँ जेनतेन
जसरि बाँचेको छ, मुनि आत्मा
प्रवाशी जीवन र रहल पहल समय ।