अनेक भाव रसायनले भरिएको
छचल्किन्छ बेलाबखत अनायास नै
बोल्ने सुन्ने फुर्सद कसलाई मिठो राम्रो
कठै ! निन्दा रसमा लठ्ठ समाज हाम्रो ।

विष ओकल्नेहरु ठूला क्रान्तिकारी रे
गरी खानेहरू सबै चोरडाँका हुन् क्यारे
अरूको हुर्मत लिँदै हिड्ने अनाहक मै
काम केही नगर्ने भयो सबैको प्यारो
कठै ! निन्दा रसमा लठ्ठ समाज हाम्रो ।

आफूले के गरे गरिन लेखाजोखा नराख्ने
कुन बाटो हिँडे, के बिराए हेक्का नराख्ने
कनपारो तताउँने शब्दले पायो वाह वाह
अरूलाई लडाउँदै हिड्ने मान्छे भएछ हिरो
कठै ! निन्दा रसमा लठ्ठ समाज हाम्रो ।

छिमेकी लड्यो रे, हिँड्दाहिँड्दै एक दिन
जाँड पचेन, भीडमा करायो कुनै एकले
हो, हो, सही कुरो, बर्सिन थाले शब्दबाण
क्षतविक्षत कानमा दोषी ढुङ्गो सुसायो
कठै ! निन्दा रसमा लठ्ठ समाज तिम्रो ।