आजकाल दोकानहरू
एकान्तमा बाटो ढुकेर बसेका लुटेराझैं लाग्छ
पसल हैन देखादेख लुट्न सफल वैधानिक लुटेरा लाग्छ
समाजको लाज ढाक्ने वस्त्र दोकान
मलाई पड्‌काउने अस्त्र दोकानझैं लाग्छ
ज्यान लिने शस्त्र दोकानझैं लाग्छ
किराना दोकान मेरो अर्थभन्दा धेरै अग्लो छ
लसुनकै दोकानमा सुनको आभास
हुन थालेको छ
कमाइको दाँजोमा सुनझैं लाग्न थालेको छ
सुनको भाउ त हामीलाई किन सुन्नुपर्‍यो र… ?

कपडाभन्दा महङ्‌गो
सिलाइ दोकान बुद्धिको भाँडो सिउने सेन्टर लाग्छ
सपिङ मल, भाटभटेनी, सुपर मार्केट
ठूला बजार त हजार /हात्ती तह लाउने जेल लाग्छ

नियमन निकाय निकम्मा छ
दिन दुईगुना रात चौगुना महङ्गी र
भ्रष्टाचार मात्र मौलाउँदो छ
जनता महङ्‌गीले बौलाउँदो छ
पर्ख .. हेर्दै गर .. देखौला ..!
जनताको शक्ति …
मासु किन्दा आँसु आउँछ भाउ सुनेर
मांसहार
शाकाहार
फलाहार
जलाहार
निराहारमध्ये
अन्तिम तिरकै हारहरू रोज्नुपर्ने
गिठ्ठा भ्याकुर खोज्नुपर्ने
दिन टाढा छैन
आधारभूत कुराका निम्ति मान्छे तड्‌पिरहेको छ
महङ्गी हरपल खड्किरहेको छ आजकाल ।