पथभ्रष्ट पथिक
भड्खालो जाकिनुको भावविहीन छ
कानाको देशमा अन्धो राजा
धुवाँधार निरन्तरता छ
र प नि विकल्प छैन
निरन्तर अविरल फटाहानीति
जन हुन वा निर्जन अवाक् छन्
पथिक काँधमा विराजित छ
अपार समर्थनले जय जयकार छ
भुइँ मान्छे गलत भन्नै सक्दैनन्
अवसरवादीले काँध थाप्दा
भिडले बिँडो थाम्दा
अझैँ स्वप्न पुरा होला भन्ने आश छ
भेडा झैँ खुला सडकदेखि ढोकासम्म
रातोदिन लामबद्ध छन्
सारा ऊर्जा खर्चेर अवसरवादी
पालैपालो अब्बल गनिन्छन्
केही लुकेको छैन र, पनि
सबथोक गोप्य राखिन्छ
सोह्रै आना खसोखास लुटपाट छ
स्वयं जानकार पनि अनजान छन्
आँखा चिम्लेर आँखावानहरु अन्धा छन्
ईश्वरीय वरदान ठान्छन् चरणस्पर्श गरेकै भरमा
चरण-ध्वनि पूर्व-पश्चिम उत्तर-दक्षिण
दिशान्तर हुने आश कम छ
गन्तव्य विहीन निरस पथ
रसालु व्याख्या जोडसोरले भएको छ
स्वर्णिम आशालु चहकिन्छन्
थकान नभन्दै निरन्तर हिँड्नेहरू
रोग, भोक, चोट, खोट खेप्दै पछारिन्छन्
लगानी कर्ताहरु सौदाबाजीले उचालिन्छन्
चित्त बुझाउने ज्ञानीहरु अनायास उफ्रन छाड्छन्
प्याज बढता खाने अगुवा सगरमाथा उक्लेका छन्
बालुवाको तेल निकाल्न तम्सेहरू
हातको सफाईमा असफल छन्
बेहिसाबको रगत पसिना बगाउनेहरू
बल्ल भाग्य खोटो ठान्दैन्
घाउ कोट्याएर तर्स्याउनेहरू
डर अनन्त मनमा पालेर
बोल्न डराउने पनि बुद्धिमान कहलिन्छन्
यहाँ जो आए नि केही हुन्न
सतीले सरापेको देश यस्तै तर्क
बलियो बन्दै छ स्थापित हुँदै छ
लाजकाजले गलतलाई गलत भन्नेहरू
अल्पमतीय स्वरले पातुला छन्
भत्ताको सत्ता दरो बन्दै सत्य दबाउदै छ
नियत डगाउनेहरू
सत्यसावित हुने भय यथावत छ
संघर्षको धिपधिपे संकेतले
आशा पलाएको छ ।
• महालक्ष्मी-१, ललितपुर



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 








