
झुटा आँशु बगाउन नै त तिमी आउनु पर्दैन
मेरो अन्त्येष्टिमा जताततै मेरो प्रशंसा छाउनु पर्दैन
म सकिएको खबर बिन्ती सबै मेरा आफ्नालाई पुर्याउन पर्दैन
जिउँदोमा एक्लै म मर्दा पनि मेरो शरीरलाई काँधको लागि कति पनि कुराउनु पर्दैन
मेरो अन्त्येष्टिमा रुनु हैन, मेरा गल्तीहरू सबै बसेर गन्दिनू
मरेपछि किन राम्रो, निर्धक्कसँग सबलाई खत्तम थिई भन्दिनू
देखेको छु सास छोडेपछि शत्रुले नि खोज्दा रैछन् साथ दिन
अन्त्येष्टिमा काँध किन, जब सकेनौं जिउँदोमा हात दिन
मेरो अन्त्येष्टिमा कसैले पनि पहिरिनु पर्दैन सादा
रुनु किन तिमी, मलामीले मेरो लास घाटसम्म लाँदा?
मेरो आँशुले पोल्छ तिमीलाई म भन्दै भन्दिनँ, तिमी सदा रमाउनू
अन्त्येष्टि पनि किन, बेवारिस लाश हुन देऊ, मरेपछि म केका लागि आफ्ना कमाउनु?
बिन्ती छ मेरो अन्त्येष्टि पनि मेरो जीवन जस्तै झूटा नबनाइदेऊ
मेरो चिसिएको शरीरमा तिमी फूलहरूको प्राण खोसी ममाथि नखनाइदेऊ
मेरो अन्त्येष्टिमा भिज्ने आँखाहरू मेरो जन्म हुँदा चम्किएका पनि थिए होला र
साँच्चै मेरो अन्त्येष्टिमा लाग्ने भीडको कोहीले मेरो अप्ठ्यारा दिनमा कहिल्यै साथ दिए होला र?
मेरो अन्त्येष्टि बाँकीको जस्तो होस् भन्ने मेरो रहर छैन
म मर्दा तिम्रो आँखाबाट आँशु झर्नैपर्छ भन्ने पनि कर छैन
मेरो अन्त्येष्टिमा कसैले ममाथि नभाको प्रेम लुटाउनु पर्दैन
मेरो अन्तिम दिनमा मेरो लागि तिम्रो महत्त्वपूर्ण समय छुटाउन पर्दैन
गोदावरी, ललितपुर



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

