कविता कविको शुद्ध प्रेमले
अभिव्यक्ति भएको शब्द हो
तर कविता शब्द मात्र होइन
कविता स्वयं कविको प्रेम हो

वास्तवमा कविको प्रेम के हो
सत्य, मुक्ति, प्रेम र आनन्द हो
तर अभिव्यक्ति अनेक हुन्छन्
कहिले शान्ति, कहिले क्रान्ति

कविता बिना कवि नै हुँदैनन्
कवि बिना कविताको रचना
दुवै दृश्यमा मात्र भिन्न छन्
तर सर्जक सिर्जना एक हुन्

कविता कवि भन्दा भिन्न हैन
भिन्न हो भने त्यो कविता हैन
कविता एक जीवन्त भाव हो
र लाखौंको मुक्तिरुपी नाउ हो

कविता कविको मात्र सोच हैन
कल्पनाको सुसज्जित रुप हैन
यदि मात्र विचार र कल्पना हो
भने त्यो एक शुद्ध कविता हैन

कविता एक जीवनको नदी हो
र कवि त्यो नदीको एउटा दृष्टा
यात्रामा दृश्यहरू हजार हुन्छन्
सृष्टिहरू पनि तर एक मात्र स्रष्टा ।

 

दुप्चेश्वर माध्यमिक विद्यालय
रामती, नुवाकोट