गमगढी गमक्क छ
किनकि मुगु कर्णालीको दुधिलो प्रवाह
अनन्तदेखि अनन्तसम्म
एकनास र एकसुरे संगीत सुसाउदै बगिरहेको छ
तलबाट खै कसले बाँसुरीको मधुरो धुन बजाइरहेको छ
पारिपट्टि झुपुक्क बस्ती
गाढा रङका पहाडका तरेलीहरू
कुहिरोको थेग्ले सिरकमुनि
अझै सुतिरहेका छन् निःशब्द
पहाडले आफ्ना तरेलीहरूमा
मान्छेहरूका लागि कोदो, मकै, तरकारी, सागपात र स्याउ फलाइरहेको छ
धूपी र उत्तीसका बोटहरूले कान्ला, भीर र पाखामा अडिएर
पहाडलाई पहिरोबाट बचाइरहेका छन्
पहिरोको घाउलाई घाँस उम्रेर
बिस्तारै निको पार्ने प्रयास गर्दैछन्
मानिसका चञ्चल चालहरूसँग बेखबर
पहाडका थुम्काहरू आकास छुन खोज्दै
कुहिरो र बादलसँग ईख राखेर
गजधुम्म बसेका बस्यै छन्
बुद्धिमान् प्राणीमा गनिएको मान्छेले नै
पहाडको संवेदनशीलतालाई ख्यालै नगरी
तालिम र अनुभवविहीन नक्कली डाक्टरले जस्तै
जथाभावी खोतलेर घाइते बनाएको छ
पहाडका शरीरभरि धर्सा र पहिरोका डोबहरू देखिन्छन्
गाउँ अझै उठेको छैन
मान्छे भन्दा चनाखा छन् चरीहरू
जो मान्छेभन्दा पहिल्यै उठेर बिहानीको गीत गाइरहेका छन्
पखेटा फट्फटाउँदै यताउता उडिरहेका छन्
जब बिहानी चढ्दै जान्छ खच्चरको घाँटीको घण्टीको टङ्टङ् आवाज
मोटरको घ्यार्रघुर्र
एफएमका सिग्नेचर टोन
निराशाजनक समाचारका लम्बेतान कभरेज
बजारको कल्याङमल्याङ
र अस्वस्थकर जीवनचर्यासँगै
गमगढी मान्छेकै कारण अशान्त, अस्वस्थ र कमजोर देखिन्छ

तर जब छायाँनाथ डाँडामाथिबाट घामका किरण छरिन्छन्
कुहिरो राराको जङ्गलतर्फ सर्दै जान्छ
पहाडका तरेलीहरू उज्याला र सुन्दर देखिन्छन्
गमगढीको अनुहार उज्यालोले धपक्क बल्छ
दिगो समृद्धिको मीठो सपनाबाट झल्यास्स ब्युझेर !!