सदाबहार भएर अनन्तसम्म एउटा फूल फुल्छ रे
पारिजात हो रे त्यो फूल
कसैले मलाई भनेथ्यो
कुनै सपनामा
होमरको इलियाड र ओडिसीजस्तै

तर अहँ मैले त्यो फूल देखेकै छैन
मरुभूमिको प्यासी
एब्सर्ड ड्राामाको पात्र भएको छु
म आजकल
आहत भएर छट्पटाएँ, एक मुट्ठी पानीका लागि
भागिरहेछु जिन्दगीदेखि
फरकफरक बहानामा

अस्तित्ववादले पिरोल्दा
झस्किन्छु म कहिलेकाहीँ
जीवन बाँच्ने प्रेरणा अनि
अलिकति सपना बोकेर
हिँडेको मान्छे हुँ म
कस्ता तरल सपनाहरू !
चुहिएछन् लामो यात्राको क्रममा
जब ब्युँझेँ नि
लुटिइसकेका थिए मेरा सपनाहरू

एउटा बिग्रिएको सम्बन्धको गणित
मायाका घाउहरू
उत्कर्षमा चुलिएका मान्छेका सफलताका कथाहरू
स्टार्टरबिनाको ट्युबलाइटजस्तो
निभेपछि फेरि आफैं बल्न नसक्ने
त्यो ट्युबलाइट पर्सोनिफाइड हुन्छ मसँग
बाँच्न नजानेको जीवनभित्र
आशा अनि सफलता खोज्ने प्रयासमा थिएँ
बरालिएछु यो निर्जन बस्तीमा
नजानिँदो गरी लक्ष्यबाट टाढिएर

कति हिँड्ने आगो बोकेर मनभित्र
पोल्यो मलाई त्यो आगोले
आफू आफैंभित्र सल्किन सकिनँ
ओकलिदिएँ मैले त्यो आगो
तर बिडम्बना
मेरो त्यो आगोले
कसैको बस्ती डढाएछ!
पल पल दुखेँ म आफैंभित्र
रुन चाहन्छु म आँसु सिद्धिने गरी
ताकि आँशुको खडेरी परोस्
अपनत्व टुक्रिएको बेला
मुस्कानमा ठेस नलागोस्

कला हो रे जीवन एउटा
जिउन जान्नुपर्छ
नशा हो रे जीवन एउटा
पिउन जान्नुपर्छ, भन्ने गर्छन् मान्छेहरू
जताततै अव्यवस्था र भद्रगोल देख्छु
पोस्टमोर्डनिज्मले जिस्क्याउँछ
साझा खुशीका लागि
साझा उज्यालोका लागि
मैन बनेर सल्किन चाहन्थेँ
तर
म जलेको त कसैले देखेन
टुक्रिएको हृदय लिएर
अरुको सफल जीवनको शुभकामना बाँड्न सकिन्छ र?
यदि सकिन्छ भने
काँडा उम्रेका क्याक्टस फलाउने बगरलाई
मेरो शुभकामना

सपनाको ह्यालुसिनेसनबाट मुक्त
विपनामा मैले भनेँ;
पारिजात त छैन मसँग
मनको सेपिलो बगरमा फूल्छन्
बेमौसमी फूलहरू-
राता, हरिया, नीला
कुन फूल रोज्छौ तिमी ?

 

बर्दघाट-१०, नवलपरासी
हाल: ओस्लो, नर्वे