तिमीले मेरो लागि गरे जस्तै,
तिम्रो लामो आयुको कामना गर्दै
सानु,
यसपालि म पनि व्रत बस्छु

तिम्रो प्रत्येक साल गरेको व्रतले
मेरो आयु लामो बनाई सकेको छ
मलाई एक्लै लामो बाँच्न मन छैन
सँगै हिँडेको बाटोमा एक्लै हिँड्न मन छैन
जीवनको अन्तिम घाम तिम्रो काखमा हेर्न मन छ
मलाई एक्लै मर्न मन छैन

मलाई स्वार्थी भन्न सक्छौ तिमी
म आफ्नो स्वार्थको साधना गर्छु
सानु,
यसपालि म पनि व्रत बस्छु

म तृष्णा भए, तिमी पानी हौ
म आकाश भए, तिमी वायु हौ
म चन्द्र त, तिमी सूर्यको तेज हौ
म शरीर, तिमी ऊर्जा हौ
म अनुभव त, तिमी त्यसको आभास हौ
म ज्ञान त, तिमी ज्ञानको अनुभूति हौ
तिमीबिना मेरो अस्तित्वको अर्थ छैन
मलाई अस्तित्वहीन भई लामो बाँच्न मन छैन

मलाई स्वार्थी भन्न सक्छौ तिमी
म आफ्नो स्वार्थको साधना गर्छु
सानु
यसपालि म पनि व्रत बस्छु

प्रत्येक वर्ष
तिमीलाई व्रत राख्न पर्दैन भन्छु
मेरा लागि आफूलाई भोको नराख भन्छु
तर तिमीले पत्नीधर्म भन्दै
शास्त्र र संस्कृतिको वास्ता दिएर
प्रत्येक वर्ष व्रत राख्छौ

मान्यताको विरोध भए हुन्छ, म मान्दिनँ
म पनि यसपालि व्रत बस्छु

तिम्रो र मेरो व्रतमा फरक यत्ति नै हुनेछ
तिम्रो उपवास पनि मेरो लागि हुन्छ
मेरो उपवास पनि मेरो लागि हुन्छ
दुवैमा मेरो स्वार्थ हुन्छ ।

 

भारत