मायाको एक झुप्पा गुलाबी फूल
पठाएको छुँ उपहारमा
आशा छ
स्वीकार्नेछौ यो प्रेम नगरी दुनियाँमा
तिमी हुनुको सारमा
जीवन केही रोमाञ्चक अनुभूति भइरहन्छ
शायद हृदयभित्र
मायाको रङ्गीन तरङ्ग
छचल्की रहेछ प्रेमिल छाल बनेर
तिमी नहुँदाको एकान्तिक छायाँमा
सम्झेर तिम्रा साथहरु
यादहरूका एकालापमा हराइरहन्छ
दूर क्षितिजमा तिमी कतै
आफ्नै दुनियाँमा रमाएको हौला
मलाई मन पक्कै छैन
तिम्रो दैनिकी भङ्ग गर्न
यादहरूले सताइरहँदा
सम्झनाका एक गुमनाम प्रेम चिनो
पठाइरहेछु त्यही गुलाबी फूलबाट
नसम्झनु यो कृत्रिम गुलाबी फूल
याद राख्नु
मुटुभित्रको माया कृतिम होइन
शक्तिशाली छ फूल भन्दा
मन भित्रको माया
समय र भूगोलले टाढो बनाए पनि
नजीकै लाग्छ यादहरुमा
सम्झनामा आइरहने
तिम्रो मुसुक्क मुस्काइरहेको अनुहार
कुनै सुन्दर तस्वीर जस्तो लाग्छ
क्रियाहरूमा प्रतिक्रियाहरू उठेजस्तै
विकर्षणहरू छिचोलेर आकर्षण बढिरहन्छ
शायद त्यही होला इरोस प्रेम
जहाँ विपरीत लिङ्गीप्रतिको
चरम आकर्षणले सजिन्छ
मायाको रुमानी दरबार
तिम्रो अनुपस्थितिमा
तिमीलाई कति खोजुँ म कथाहरूमा
तिमीलाई कति खोजुँ म गीतहरूमा
आज खोजिरहेछु कविताका हरफहरूमा
नसम्झनु मैले पठाएको गुलाबी फूल
कति सुन्दर
गुलाबी फूलभन्दा तिमी कयौँ गुणा सुन्दर छौ
मन पनि त कति सुन्दर
सम्झेर तिम्रा ती प्रेमिल साथहरू
सकिएन भुल्न
भूगोलका रेखाले कोरेका सीमारेखाहरूको
विवशताका अलगपनाहरूमा
प्रेम मर्नु हुँदैन
प्रेम सेलाएर चिसो हिउँ बन्नु हुँदैन
विडम्बनाका पहाड छिचोलेर
मुटुभित्रबाट निस्केका ढुकढुकीमा
न्यानो छाल छचल्की रहोस्
जहाँ प्रेम सागरको दुनियाँमा
हामी तैरिरहन सकौं
जहाँ जीवनको खुशी अनवरत बगिरहोस् ।
खिजीदेम्वा–३, खिजीचण्डेश्वरी
माझगाउँ, ओखलढुङ्गा
हाल: काठमाडौं
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।