तिम्रो हृदयको बगानमा
मेरो नामको एक थुङ्गो फूल फुलाउन
मेरा सारा पाइलाहरू
काँडैकाँडाका पुलेसोमा टेक्नु पर्नेछ

तिम्रो अधरको तरेलीमा
मेरो नामको एक चिम्टी मुस्कान फक्राउन
लोकका तमाम इमानहरू
आडम्बरको दोकानमा बेच्नु पर्नेछ

नफक्रिँदै झरेर आकाँक्षाका उच्छवासहरू
निर्घात मुर्च्छित हुनेछ कुनै पल
अनि नियतिको कठघरामा
उही रिक्तताको मलामी बन्नु पर्नेछ

मिलनका हरेक अभिलाषाहरू
झर्नेछन् पलपल
अश्रुधारा बनेर सुख्खा बगरमा
अनि आफ्नै पाइतालाले कुल्चिएर मेट्नु पर्नेछ

के भो त ?
अभिलाषाहरू मेरा हुन् फगत् मेरा
जहाँ अतृप्त प्यारका कोपिलाहरू
फुल्छन्, फक्रन्छन्, फैलिन्छन्
माहुरीका हुलझैँ सुवासित तरङ्ग फिँजाउँदै

पुनर्जीवन सुसुप्त प्रेमको
अनुरागको अनि उजाड जीवनको
प्रत्येक श्वासमा आनन्द
हरेक झझल्कोमा प्रियता
हरपल समर्पित यादहरू

त्यसैले प्रिय
सारा लोकलाई विस्मृतिमा राखेर
हृदयभावको असिम तरङ्ग तिमीलाई
अटुट स्मृतिका अनन्त सङ्गालो तिमीलाई
माया नै मायाको विशाल पत्रहरूले भरिएको
एउटा सग्लो गुलाफको फूल तिमीलाई ।।

लिखु-६, नुवाकोट
हालः मध्यपुर थिमी-९, भक्तपुर