खाली पेट पटुका बाँधेर
काँधमा हलो-जुवा बोकेर
खेत गएका बा
फर्किंदा भकारीभरि धान लिएर आउँछन्
रित्तो ढाकर
खकन-तोक्मा
र, रुक्साइट झोला भिरेर
परदेश गएका बा,
फर्किंदा झोलाभरि नुन लिएर आउँछन्

बा, उकालोमा लौरो हुन्
थकानमा चौतारो हुन्
साहुको ऋण थाप्लोमा बोकेर
अनुहारमा मुस्कान छर्ने
बा, शिरको टोपी हुन्
बा, घरको धुरी हुन्

सन्तानका लागि बा
यस्ता अदम्य शक्ति हुन्
जो, दुःखको पहाड खस्दा
समस्याको भित्तोसँग सिङ्गौरी खेलेर
अभावको खाडल पुर्छन्
परिस्थितिका वज्रहरू वर्षिरहुन्
तर बा
हिम्मत हार्दैनन्
प्रतित्युत्तरमा छाती थाप्छन् बरु
र, सन्तानको रक्षा गर्छन्

बा भनेका यस्ता कर्तव्यनिष्ठ हुन्छन्;
जो, जुवा हारेको रनाहामा पनि
फर्किंदा आफ्ना लालाबालाका लागि
एक पुरिया बिस्कुट च्याप्न भुल्दैनन्
बा, लेखान्तले
अर्की स्वास्नी ल्याउन पुगे पनि
छोराछोरीलाई कहिल्यै भेदभाव गर्दैनन्
बा भनेका यस्ता त्यागी हुन्छन् कि
जो, आफ्ना सन्तान बदमासै निक्ले पनि
उसको लागि
जेल-नेल भोग्न, तारिख खेप्न
आफैं सहर्ष तयार हुन्छन्

गाएर सकिन्न
बा’को महिमा गान
गरेर सकिन्न
बा’को सेवा मान
बा, ब्रह्माण्ड हुन् अटल
बा, आकाश हुन् विशाल
प्रकृतिको सर्वोत्तम श्रष्टा बा
संस्कृतिको अत्युत्तम द्रष्टा बा
बा’को रिस उपदेश हो
बा’को आक्रोश ज्ञान हो
जिवनको सर्वोच्च शिखर हुन् बा
जगतको उत्कृष्ट धरोहर हुन् बा ।