दर्शकदीर्घामा यतिबेला देखिरहेको छु एउटा अनुहार
स्खलित भनेर जसलाई मैले छोडेको कतै
जो आशाको समुद्रबाट सफलताको सिपी झिक्न भनी हिँडेको छ
कविता बुझ्दैन तर सुन्छ
र बोल्छ यो कविको कविता म हुँ
बुढो जिन्दगी एक हात अर्कोले पिट्दै बसेको छ
उसलाई यो सभ्यता बुवा भनेर चिन्छ
मैले नलेखेको कवितामा आफूलाई पढेर नमज्जाले रोयो
तर उसका आँखामा आँसु थिएनन्
त्यहाँ त म थिएँ
मेरो अतितको घाउ थियो
– जहाँ भुनभुनाइरहेका थिए आफन्त
हुँला हजार गलत
तर झुठ म एक पनि नाइँ
फेरि कहाँबाट जन्मियो निराशाको अनुभूति ?
किन लाग्यो आशाको घनघोर जंगलमा निष्फलताको डढेलो ?
ऊबेला हिँड्दा औंला समाएको हातमा अब लौरो आउनुपर्छ
तर मेरो भागमा न एउटा रुख बचेको छ
न बजारमा गएर किन्नलाई खल्तीमा रुपैयाँ
म कहीँ चुकेको छु
ऊ कहीँ झुकेको छ
बाबजुद – समाज भन्छ पर्याप्त छ तँलाई
हेक्का नभएको हो शब्दको भोगले पेट अघाउँदैन
तर दिन्छ क्रान्ति गर्नेहरूलाई राहत
किनकि हुन् कवि क्रान्ति
अनि बा – क्रान्तिकारी
र सत्य यही हो क्रान्तिकारी भोकले मर्दैनन्
न भोकको लय हुन्छ
न मृत्युको भय हुन्छ
मर्छन् त तिनका आफ्नै आफ्नाहरूको खन्जरको प्रहारले
जो यतिबेला दर्शकदीर्घामै उभिएका छन्
बा अभिमानका साथ, एक्लै
बाँकी अपमानको पगरी भिराउन तम्तयार
तर मलाई पर्वाह छैन
तराजुमा ढक र सामानको ओजन हुन्छ
ढक एउटा हुन्छ, सामान धेरै चढ्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।