बिहान उनको आशीर्वाद लिएर जान पाउनु
बेलुका फर्कँदा उनैको दर्शन गर्न पाउनु

सुख सयल उनीसँग साटेर रमाउन पाउनु
दु:ख पीडा बाँडेर उनको आड भरोसा पाउनु

समस्या कुनै भएमा उनलाई सुनाउन पाउनु
सुनाउँदा मात्र पनि समाधानकै आभास पाउनु

केही राम्रो कर्म गर्दा उनको प्रोत्साहन र ताली पाउनु
सत्कर्मको बाटो बिराउँदा उनको गाली पनि पाउनु

छन् भने भगवानको छवि उनैमा देख्न पाउनु
निःस्वार्थ प्रेम यदि हुन्छ भने त्यो उनैबाट पाउनु

तिरेर सकिँदैन ऋण उनको, सेवासम्म गर्न पाउनु
आँसु उनको देख्न नपरोस्, यत्ति कोसिस गर्न पाउनु

प्रारब्ध आ-आफ्नै, सबैले त्यो सौभाग्य कहाँ पाउनु
पिताको साथको शितल छहारी सबैले कहाँ पाउनु ।