बाबा सम्झिन त सम्झिरहन्छु दिनहुँ
सञ्चो बिसञ्चो पनि सोधिरहन्छु
उमेर बढ्दै गइरहेको त्यो मुहार
थकित देखिँदैछ रे आजभोलि
हरपल मुस्कान छाउने ओठमा
अलिक उदासी छाएको छ रे
करुणाले भरिएका नयन हजुरका
बेला बेलामा भिजिरहन्छ अरे
समयसँगै बग्नु पर्ने हामी हेर्नुस् न
टाढा बस्दा बस्दै एक्लो बनाइदिएछ
हजुर एक्लो हुनुहुन्न त्यही काफी छ

सोचेका सपना सबै पूरा हुन्न थाहा छ
बस्, हजुर निरास नहुनू, यही चाह छ
उमेर त जीवनको खेल रहेछ सबको
मनबाट खुसी रहनु यही कामना छ

कयौं रात नसुतेर हुर्काउनु भयो
कैयौं दिन डबल ड्युटी गर्नु पर्यौ होला
हाम्रो खुसीमा त्यागिएका इच्छाहरू
बिर्सिएर मुस्कानले छोपिदिनु भयो
अप्रत्याशित घट्नाले विक्षिप्त त्यो मन
सम्हालेर यी कोपिलालाई
फुल्न सिकाउनु भयो

सम्झिन्छु खाना नखाई घुर्की लाउँदा
भोलि फिल्म हेर्न जाने भन्दै खुवाएको
छिमेकीले सर्प मारेर खाँदा
झुक्याएर खुवाउँछन् कि भन्ने डरले
दुई दिन घर भित्रै बन्दी बनाएको
संरक्षणको हिसाब किताब हुन्न
बाआमासँग न आँशुको हुन्छ
हुन्छ त केवल प्रेम र स्नेहको
रात दिन पल पल नजरभित्र राखेर
बुनेका सपनाहरू
पूरा भए भएनन्, थाहा छैन तर
मुहारमा रोदनका रेखा कहिले नपरुन्
निराशाको बादलले कहिले नढाकोस्
मन्द मुस्कान सधैँ छाइरहोस् बाबा

हेर्नुहोस् न अचेल
आफ्नै बाआमा दाजुभाइ
दिदीबहिनी र इष्टमित्रलाई सम्झिन
औंशीपूर्णिमा, जन्मदिन, विवाह यस्तै
अनेकौं दिनहरू मात्र निस्कदैछन्
आफ्ना पराई सबै सबै दूरदूर बन्दैछन्
चिठ्ठी लेख्न पनि त समयले छुटाइसक्यो
चाउरिएका हातखुट्टा देखेर पनि बिर्सन्छौँ
एक दिन हामी पनि वृद्ध भइजान्छौँ
र थकित यायावर भएर डुलिरहने छौँ ।