शहर एकाएक
गाउँ पसेपछि
सिकुवाका
पिँढीहरू भत्किए
मतानका
सिँढीहरू भत्किए
भत्किए
बाबा र आमाका मनहरू
र,
उजाड बन्यो
थुप्रै वसन्तहरू
निरस बन्यो
मेलापातहरू
हिजोआज
म पनि गाँउबाट छुट्टिएको छु
छिट्टै आउँछु भनेर
हिँडेको म
यतिका दिन गाउँ नफर्केपछि
हरेक साँझ
मेरो दलानमा
एकहुल गाउँहरू
द्यौसि खेल्न आउँछन्
मेरो मनको मैदानमा
आधारातसम्म बुर्कुसी खेल्छन्
र, लाख आशीष दिएर जान्छन्
निरीह म
मेरो गाउँलाई
फुटी कौडी
दान दिन पनि सक्दिनँ
किनकि
म रित्तिएर हिँडेको मान्छे
रित्तै छु
गाउँका भग्नावषेशहरू
म ठिमाउन खोज्छु
ऐँचो पैँचो सापटीहरू
सम्झन खोज्छु
बालापनको भोक र
छिमेकीको ममता सम्झन्छु
ए, गाउँ
कतै मलाई सराप त दिएनौ ?
ए, शहर
के छ तिम्रो खबर ?
एक दिन
खाँडीको खास्टो ओडेर
झोक्राई रहेको बुढो गाउँले भन्यो,
“गाउँ नै कवाडीमा
बेचिरहेको शहरलाई
के दिउँ मायाको चिनो ?
गाउँको अस्तु जलाएर
कसरी मनाउँ
शहरको जन्मदिन ?”
चौक चौकमा पसल थापेर
तन्नेरीका सपनाहरू
बेचिरहेको शहरले भन्यो,
“गाउँ तिमी अरब जाऊ
दुईचार वर्ष कमाएर आऊ
भुई बादल जस्तै उडिरहेका
तिम्रा सपनाहरूले पनि
एकदिन आकाश छुनुपर्छ
र गाउँ पनि शहर हुनुपर्छ ।”
गाउँमा
चिउरीको बोटहरू मर्न थाले
अब के दिउँ चेलीलाई दाइजो ?
शहरमा
रोबोटहरू जन्मन थाले
अब कस्लाई सुनाउँ मान्छेको कथा ?
हेर्दाहेर्दै
गाउँलाई बेस्वाद बनाएर
लिलाम भए
पिठो र च्याँख्लाहरू
बसाइँ गए
गुन्द्रुक र सिन्कीहरू
बेपत्ता भए
इमान र जमानहरू
शहर गाउँ पसेपछि
आजकाल त
खल्लो भा छ
आफ्नै गाउँ पनि ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।