गोपाल काफ्ले

फेसबुकमा, टिकटक … ..मा
मलाई कसैले लाइक गरेन
सेयर गरेन
कमेन्ट गरेन

सब्स्क्राइब गरेन

कत्रो आशका साथ खास फोटो खिचें
कोणकोण मिलाएँ
लाइट मिलाएँ …
इफेक्ट रोजेँ
इमोजी खोजेँ
जुम गरेँ
पटक-पटक हेरेँ
व्याक राउन्ड सिन फेरेँ
एङ्‌गल – एङ्‌गलबाट हेरेँ
आफ्नो तस्बिर राम्रो नलाग्ने कुरै भएन
मान्छे ठिकै भए पनि तस्बिर चानचुने थिएन …
उडी चन्द्र छुने
तुरुन्तै हिट हुने
भाइरल भइहाल्ने
फिलिम खेल्न गइहाल्ने
सपनै-सपना आहा !
छिनभर पनि टिकेनन्

कही कतै बिकेनन्
सबै स्वाहा !
लाइक कमेन्ट र सेयरको इच्छा पूरा भएनन् …
फेसबुकमा पोस्ट्याउँदा कसैले बाल दिएनन्…
कस्तो खत्रा स्टाटस लेखेँ
दिसापिसाब च्यापीच्यापी
घन्टौं लगाएर…
लाइक कमेन्ट र सेयर आउँदै आएन…
यसैमा…
मेरो दिन गयो
रात गयो
खाजा गयो
भात गयो
मिनेट मिनेटमा मोबाइल खोल्थें
थुक्क ! छैन लाइक
छिः ! कमेन्ट भन्दै
एक्लै बोल्थें
मनमा खाली त्यही कुरा घुमी रह्यो
अन्त्यमा जे नहुनुथ्यो त्यही भयो
तर
लाइक कमेन्ट सेयर … आएन …

कान्छीले आफ्नो यथार्थ कहानी सुनाई
कान्छी त्यही निहुँमा रोगाई ….
कान्छी अहिले
डिप्रेशनको सिकार छे
फेसबुक टिकटकलाई धिकार्छे
तपाईं कान्छी नबन्नू है !
कान्छीकै हाल भए
पछि मलाई केही नभन्नू है !
🙏😃😁😍