जन्म दिने आमाभन्दा  ठूलो हुन्न कोही

हँसाइदिन्छिन् सन्तानलाई आफू रोई रोई

पूज्य हुन्छिन् जन्मभूमि, जन्मदिने माता

जोडी साइनो रगतले  नाता !

 

ताते ताते डोर्याउँछिन् जिन्दगीको बाटो

देशप्रेम सिकाउँछिन् धरतीको माटो

मान्नुपर्छ आमालाई पुज्ने भगवान्

बाँडिदिने गुणहरू सर्व विद्वान्

 

मिठो मिठो खुवाउँछिन् आफू भोकै बसी

माया र ममता भरिएको् छ मनभरि

 

रुन्चे मुख लाए मैले खुशी पार्नलाई

खेल खेल्छिन् झेल गर्छिन् आफैँ हार्नलाई

घोट्छिन् आफ्ना हड्डीहरू छाक टार्नलाई

उनको मेरो सम्बन्धको नाता कोर्नलाई

 

मेरै लागि बाँच्छिन् आमा मेरै लागि हाँस्छिन्

थुँगाथुँगा मातृत्वको अनि माला गाँस्छिन्

फूल फुल्छ फूलबारीमा मन जाग्दैन

पिटे पनि आमादेखि मन भाग्दैन

 

हुर्काइन्  मलाई करेसामा गोडमेल गरी

समय सारा खर्ची ममा आफू ओझेल परी

यो अटुट नातादेखि कसको डाहा लाग्छ ?

छुटाउन खोजेदेखि झन् चाहा जाग्छ

 

हुर्काई बढाई सर्वथाले देखाइन् मलाई सृष्टि

सत् असत् छुट्याइदिने उनै मेरी दृष्टि

कति रुन्छिन् म बिरामी हुँदा

ढुकढुकीमै राख्छिन् मलाई अँगालोमा बेरी ।

 

आमा भगवान् हुन्, उनको सेवा गर्न सिकूँ

म आमाको एक सन्तान, सेवा गर्न पाऊँ ।