म त्यही देशमा बस्छु
जुन देश
रित्तिदै गइरहेको देश
निराशिदै गएको देश
देश छाड्दा खुशी हुने
युवाहरूको देश
देश छाडेर
विदेश गइरहेको देश

सपना साकार पार्न
आफ्नो परिवार छाड्न तयार
तन्नेरीहरूको देश
दुधे बच्चालाई छाडेर
रुँदै रुँदै खुशी खोज्न निस्केका
आमाहरूको देश
देश छाडेर
विदेश गइरहेको देश

क्षमता र दक्षता नबिकेका
घुस खुवाएर पासपोर्ट बनाउँदै गरेका
शैक्षिक बेरोजगारहरूको देश
कोही निरन्तर बनिरहेको
कोही काल गनिरहेको देश
थोरैले यही हुन्छ र
धेरैले यहाँ केही हुन्न भनिरहेको देश
शैक्षिक प्रमाणपत्रहरू थन्क्याई
सीप र क्षमताहरू बोकेर
उड्न आतुर भएकाहरूको देश
देश छाडेर
विदेश गइरहेको देश

देशलाई वृद्धाश्रम बनाएर
वृद्धवृद्धाकै स्याहार गर्न
आफ्ना वृद्ध बा‑आमालाई छाड्न बाध्य
छोराछोरीहरूको देश
देश छाडेर
विदेश गइरहेको देश ।

 

 

सुनकोशी ६, सिन्धुली
हालः पोखरा