आज म जल्दै थिएँ
तर डढ्दै चाहिँ थियो मेरो सरकार
म जल्दै गर्दा
सँगसँगै जल्दै थियो त
सरकारको व्यवस्था अनि अवस्था
सरकार म जल्दै गर्दा एक्लै देखेको थियौ होला ?
तर म सँगसँगै आम नागरिकको क्रान्तिको ज्वाला
अनि मेरो शरीरको धुवाँसँगै
एक विद्रोहको मुस्लो निस्किदै थियो

सरकार तिमी राज्य दोहन गर्दैमा फुर्सद
कहिले पनि पाएनौ है ?
कि आम नागरिक कुन अवस्थामा गुज्रिएका छन् भनेर
कहिले पनि बुझ्ने प्रयास गरेनौ
कि कसरी गुजारा चलाइरहेका छन् भनेर ?
सरकार तिमी त व्यस्त छौ
भ्रष्टाचार, चरम बेथिति
राज्य दोहन गर्नमै
अनि मजस्ता एक लाचार नागरिक
बाध्यता अनि विवश हुन्छु आफैँ जल्नु
कि त हरियो पासपोर्ट बोकेर
सात समुद्रपारि परिवार छोडेर

सरकार देशमा जति पनि व्यवस्था आए पनि
नफेर्दो रहेछ जनताको अवस्था
फेर्दो रहेछ मात्र ब्वांसा अनि गिद्देहरूको
जो देश र जनताको ढुकुटीको सिनो खाएसरि
खाएर उडुस मोटाएझैं मोटाइरहेका छन्
सत्तामा गएर भत्ता खान पल्केका ती देशका धमिराहरूले
भित्रभित्रै खोक्रो पारिसकेका छन्

म आज मरेर पनि बाँचिरहेको छु
सरकार तिमी बाँचेर पनि जिउँदै मरिरहेका छौ
तिमी एउटा मूकदर्शक भै लाचारीपन देखाई
बिना वस्त्र मुख छोप्न बाध्य छौ
आफ्नो लाज छोप्नलाई
सरकार मजस्ता कयौं नागरिक बन्द कोठाभित्र
मर्न बाध्य छन्
तर म भने आफैँ जलेर तिम्रो अन्त्यको बिगुल फुक्नलाई
मसाल बनी बीच सडकमा क्रान्तिको ज्वाला भएर आत्मदाह गर्दैछु ।