सयौं सपनाहरू सजिएका छन् मनमा
पूरा हुने आसमा
हिँडेको छु गह्रौं सपनाको भारी बोकी

आफ्नै जिन्दगीले पनि खै के
सम्झिन्छ मलाई यही दुनियाकै भाँतिमा
कहिले मार्न उक्साउँछ, कहिले मर्न उक्साउँछ
मृगतृष्णाकै चक्रमा अल्झ्याइरहेछ
मरुभूमिदेखि मरुभूमिसम्म…

धेरै छन् सपना बटुलेर मस्तिष्कमै
बुनिएका गुन्द्रीहरू
धेरै पटक कल्पेको छु
त्यही गुन्द्रीमा बसेर
पिउँदै गन्तव्यको रसिलो सफलता
नमेटिएको सघन तृष्णा मेटेको

नचाहेको भोग्नु र चाहेको गुमाउनु नै
जिन्दगी रहेछ…

सोच्छु, अनेक खुड्किला
पार गर्नुर्छ, संघर्षको पहाड चढी
उक्लनु छ सुगम सफलताको फाँटमा
लड्नु छ अभावसँग
धैर्यको साथमा परास्त गर्नु छ
निराशा र कुण्ठालाई
पचाउनु छ सुगम सफलताको
जुनून बोकेर “हुतिहारा”को आक्षेपलाई
जवाफ दिनु छ दुनियाँलाई कर्मले
सिकाउनु छ
“भोकै रहे पनि भकारी भर्ने सपना देख्न ।”