संविधान लेखियो

कानून लेखियो

अधिकार र कर्तव्य लेखियो

तिम्रो र हाम्रो ममत्वको

ग्रन्थ

लेख्नै बाँकी छ ।

तिमीलाई

कऽ सिकाउने

अऽ सिकाउने

तिम्रा गुरु मात्र होइनन्

रगतको नाताभन्दा परका

भावनाले बाँधिएका

तिम्रा कुशल अभिभावक हुन्

तिम्रो `गुरु तिर्खा लाग्यो, बाहिर जाऊँ’ को

उत्तरमा मुन्टो हल्लाएर

स्वीकृति दिने

गुरुको आत्मीयता

लेख्नै बाँकी छ ।

नरिवल कडा छ

फोर्न सके मीठो स्वाद

लुकेको हुन्छ,

नरिवल फोर्नबाट

पन्छिएका तिमीले

गुरुको मिठास बुझेनौ कि ?

यी तिम्रा किताबहरूमा

गुरुको मिठास अझै लेख्नै

बाँकी छ ।

हजारौँ जिज्ञासु केटाकेटीले

लाखौँ पटक हेरिएका

ऐनाजस्तै गुरु,

तिम्रा कमजोरी लुकाउने

कोसिस गरिरहनुहुन्छ

तिमीले चेहरामा कलुषता

नदेखी

ऐना पुछिरह्यौ तर अनुहार

पुछेनौ,

तिम्रा अज्ञानता देखाउन

आएका

ऐनाजस्तै गुरुका आकृतिहरू

लेख्नै बाँकी छ ।

तिम्रो सानो सफलताले

रसाएका गुरुका आँखा

पढ्ने सूत्र

लेख्नै बाँकी छ ।

तिम्रो सानो बदमासीले

दुखेको गुरुको

दिल पढ्ने

परिभाषा अझै

लेख्नै बाँकी छ ।

तिम्रा निर्दोष आँखामा

गुरुले देखेका हजारौँ सपना

पढ्ने कविता लेख्नै बाँकी छ ।

तिम्रा कलिला हातले

लेखेका मसिना अक्षर

पढ्दा

महाकाव्यजस्तै लाग्ने

गुरुका संज्ञानहरू

लेख्नै बाँकी छ ।

तिम्रा चञ्चलतालाई

कवितामा बदल्ने

गुरुको प्रयासलाई

परिभाषामा

लेख्नै बाँकी छ ।

तिम्रा हरेक बदमासीलाई

सिकाइको क्रम ठानेर

सुधार्न खोज्ने

गुरुको प्रतिबद्धता

लेख्नै बाँकी छ ।

गुरुले पढ्ने तिमी

तिमीले पढ्ने गुरुको

अर्थ कतै लेख्नै बाँकी छ ।

आमालाई ममता

बुबालाई कर्तव्य ठान्ने

दर्शनका कुनै पन्नामा

`गुरु सारथि हुन्’ भन्ने लेख्नै बाँकी छ ।

(विश्वभर छरिएर रहेका लाखौँ बालबालिकालाई ५९ औँ बाल दिवसका अवसरमा हार्दिक शुभकामना )