वर्षौँ वर्षदेखि भोगिरहेछ ऊ
छातीमा देशको स्टिकर टाँसेर
पहिचान र संस्कारको जगेर्नाको खातिर
म्याग्मा भरिएको मस्तिष्कले
ओकल्छ नागरिक ध्वनि
`देश´ बनाउँछौँ भन्नेहरूलाई
किन कर्कश र टर्रो लाग्छ उसको आवाज ?
खै कुन्नि !
माथि आकाशमा –
जीवनको आयु बोकेर
दिनमा धेरै पटक
परदेशिन्छ `देश´
खोज्नेहरूले खाडी पसेपछि
सुख, सुविधा र धन सम्पत्ति मात्रै खोजे
श्रम बेची बिर्सिए जन्मभूमि
तर ऊ –
फक्ताङ्लुङको काखमा उभिएर
चिनाइरहेछ पुर्खाको नासो
फुकिरहेछ मधेश झरेर
कृषि क्रान्तिको विगुल
आलै छ टाउकामा
मुक्त कमैयाको अन्त्यका लागि लड्दा
खाएको चोटको खत
राजवंशी चोकमा उभिएर
सभ्यता र संस्कृतिको
पर्चा गर्दागर्दै
भाँचिए उसका करङ
आवरणमा `देश´ घोक्नेहरूले
लाए पहिचानको बोलीमा कोर्रा
भन्छ मनमनै –
“साला केने है हमर देश मे बाक् स्वतन्त्रता के”
किन फुटाइन्छ पटकपटक
उसको खप्पर ?
किन तारो बनिरहेछ
उसको शरीर यो देशलाई ?
किन बोल्न पाउँदैन उसले
समताको बोली ?
किन जोगाउन पाउँदैन उसले
पुर्खाको सीमा स्तम्भको खाँबो ?
प्रिय राज्य !
बताइदेऊ आज जसरी भए नि
खै कहाँ छ काङ्सोरेको देश ?